काठमाडौं। ट्रंकलाइन महसुल विवादका कारण बुटवल–भैरहवा औद्योगिक करिडोरका १० उद्योगको विद्युत् आपूर्ति शुक्रबार साँझदेखि काटिएको छ। ऊर्जामन्त्री कुलमान घिसिङको निर्देशनमा नेपाल विद्युत प्राधिकरणले पञ्चकन्या स्टील, एभरेष्ट रोलिङ, एसआर स्टील, एसआर फुड, भलबारी चामल कारखाना, गोयन्का फुड्स, सिद्धार्थ पेट प्लास्टसहितका उद्योगको लाइन काटेको हो।
उद्योगीहरूले प्रयोग नै नगरेको विद्युतको शुल्क असुल्न खोजिएको भन्दै आपत्ति जनाएका छन्। एभरेष्ट रोलिङका प्रबन्धक अरुण गोयन्काले “राज्यले गुण्डागर्दी शैलीमा महसुल असुल्न खोजेको” आरोप लगाएका छन्।
उनीहरूले ट्रंकलाइनको प्रयोग नगरेको प्रमाण देखाउन माग गर्दै, अन्यथा कर्मचारीको गल्ती उद्योगीमाथि थोपर्न नमिल्ने बताएका छन्। पुनरवलोकन समिति खारेज भएपछि उद्योगीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन बुझाउँदै “न्यायको ढोका बन्द भएको” बताएका छन्।
प्राधिकरणले २१ दिनभित्र बक्यौता तिर्न सूचना जारी गरेको छ, तर उद्योगीहरू भने महसुल अन्यायपूर्ण भएको दाबी गर्दै उद्योग बन्द गर्नेसम्मको चेतावनी दिएका छन्।