बीजिङ– चीनको आगामी पाँच वर्षे योजना तयार पार्न वार्षिक पूर्ण बैठक बस्नुअघि नै सत्ता सञ्चालक चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले नौ जना वरिष्ठ सैनिक अधिकारीहरूलाई भ्रष्टाचारको आरोपमा पार्टी र सेनाबाट निष्कासित गरेको छ। यीमध्ये केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष तथा पोलिटब्युरो सदस्य हे वेइडोङ पनि पर्छन्। उनको स्थानमा झाङ सेङमिनलाई नियुक्त गरिएको छ। यस घटनाले राष्ट्रपति सी चिनफिङको शक्ति सुदृढीकरण र भ्रष्टाचारविरोधी अभियानको नयाँ चरणबारे राजनीतिक हलचल सिर्जना गरेको छ।हे वेइडोङ पूर्वी थिएटर कमाण्डका प्रमुख थिए, जसले ताइवानसँग सम्भावित द्वन्द्वको अवस्थामा मुख्य भूमिका निर्वाह गर्छ। उनी केन्द्रीय सैन्य आयोगका उपाध्यक्षसँगै सीपीसीको दोस्रो शक्तिशाली निकाय पोलिटब्युरोका सदस्य पनि थिए। कारबाहीमा परेका आठ जना केन्द्रीय समितिका सदस्य थिए। नयाँ उपाध्यक्ष झाङ सेङमिन जनमुक्ति सेनाको रकेट फोर्सका पूर्व जनरल हुन् र आयोगको भ्रष्टाचारविरोधी शाखाका उपसचिव पनि थिए। उनी अर्का उपाध्यक्ष झाङ युसियापछि तेस्रो वरीयतामा रहनेछन्।सीपीसीको केन्द्रीय अनुशासन जाँच आयोगले यी नेताहरूलाई पार्टी अनुशासन उल्लङ्घन र भ्रष्टाचारको आरोपमा निष्कासित गरी अभियोजनका लागि सिफारिस गरेको हो। यसअघि पनि सीको नेतृत्वमा सयौँ वरिष्ठ नेताहरू कारबाहीमा परेका थिए, जसले उनको उत्तराधिकारीका रूपमा हेरिएका व्यक्तिहरूलाई लक्षित गरेको विश्लेषण गरिन्छ।
सन् २०१३ मा राष्ट्रपति बनेका सीले सुरु गरेको यो अभियानले सैन्य, राजनीतिक र आर्थिक क्षेत्रका शक्तिशाली व्यक्तिहरूलाई निशाना बनाएको छ। यसअघि पूर्व रक्षामन्त्री ली साङ्गफु र वेई फेङ्गहे, पूर्व विदेशमन्त्री चीन गाङ, केन्द्रीय सैन्य आयोगका राजनीतिक कार्य विभागका निर्देशक मियाओ हुआ, पूर्व थिएटर कमाण्डर लिन सियाङयाङ, जनमुक्ति सेनाका वरिष्ठ अधिकारी हे होङजुन, संयुक्त सञ्चालन कमाण्डका वाङ सिउबिन, शाङ्सी प्रान्तका पूर्व गभर्नर जिन सियाङजुन र पूर्व कृषिमन्त्री टाङ रेनजियान जस्ता नेताहरू भ्रष्टाचारको आरोपमा हटाइएका थिए।सन् २०२२ मा प्रधानमन्त्री ली खछ्याङलाई स्थायी समितिबाट हटाइएको थियो भने सन् २०१२ मा बो सिलाई र २०१७ मा सन झेङसाईलाई पार्टीबाट निष्कासित गरिएको थियो। विश्लेषकहरूका अनुसार, यी कारबाहीहरूले सीका सम्भावित प्रतिस्पर्धीहरूलाई हटाएर उनको सत्ता केन्द्रीकरणमा सहयोग पुर्याएका छन्। सन् २०२२ मा संविधान संशोधन गरी दुई कार्यकालको सीमा हटाएपछि सीले माओ त्सेतुङजस्तै आजीवन नेतृत्वको बाटो खोलेका थिए।
जनवादी गणतन्त्र चीनको स्थापना (१९४९) देखि नै सीपीसीले सत्ता सञ्चालन गर्दै आएको छ। संस्थापक माओ त्सेतुङ सन् १९४३ मा पार्टी प्रमुख बनेका थिए र सन् १९५४–५९ सम्म राष्ट्रपति पनि रहे। माओको निधन (१९७६) पछि हुआ गुओफेङ, हु याओबाङ र झाओ जियाङजस्ता नेताहरू अध्यक्ष/महासचिव बने, तर वास्तविक शक्ति देङ सियाओपिङको हातमा थियो। सन् १९८९ मा ज्याङ जेमिन महासचिव र राष्ट्रपति बनेपछि यो पदको परम्परा सुरु भयो। ज्याङपछि हु जिन्ताओ र त्यसपछि सी चिनफिङ आए।सीपीसीमा ३७५ सदस्यीय केन्द्रीय समिति, २४ सदस्यीय पोलिटब्युरो र ७ सदस्यीय स्थायी समिति छ। स्थायी समिति नै सर्वोच्च शक्तिशाली निकाय हो, जसमा सी चिनफिङ (महासचिव तथा राष्ट्रपति), ली सी, दिङ झेउझियाङ, काई की, वाङ हुनिङ, झाओ लेइजी र ली कियाङ छन्। ली कियाङ प्रधानमन्त्री र स्टेट काउन्सिलका प्रमुख हुन्, जसलाई सीको विश्वासपात्र मानिन्छ। परम्परागत गुटबन्दी अन्त्य भई अब सी निकट व्यक्तिहरू नै शक्तिमा छन्।चीनको राष्ट्रिय जनकंग्रेस (एनपीसी) मा ३,००० सदस्य छन्, जसमध्ये ३० प्रतिशत साना दल, स्वतन्त्र, विशेषज्ञ, किसान, महिला र अल्पसंख्यकका प्रतिनिधि छन्। वार्षिक बैठकमा कानुन पारित, बजेट स्वीकृति र राष्ट्रपतिको औपचारिक नियुक्ति हुन्छ। तर, सबै निर्णय सीपीसीले नै गर्छ र एनपीसीले अनुमोदन मात्रै गर्दछ। राष्ट्रपतिको निर्वाचन हरेक ५ वर्षमा हुन्छ, जसमा पार्टी सदस्यले मात्र मत दिन्छन्।संसारको तेस्रो शक्तिशाली चिनियाँ जनमुक्ति सेना (पीएलए) केन्द्रीय सैन्य आयोगले सञ्चालन गर्छ, जसको अध्यक्ष सी नै छन्। यस पटकको कारबाहीले सैन्य नेतृत्वमा ठूलो परिवर्तन ल्याएको छ। विश्लेषकहरूका अनुसार, ७० वर्ष उमेर हद नमान्दै प्रतिस्पर्धीहरूलाई हटाउने क्रममा हु चुन्हुवा जस्ता दाबेदारहरूलाई पनि स्थायी समितिमा स्थान नदिइएको छ। यो अभियानले सीको सत्ता लम्ब्याउने र बफादारहरूलाई बढुवा दिने रणनीतिको संकेत गर्दछ।
यो कारबाहीले आगामी पूर्ण बैठकमा सीको प्रभाव अझ बढ्ने देखिन्छ। तर, यसले सत्ता संघर्षको चर्चा पनि बढाएको छ। सीले मन्त्री नियुक्तिदेखि अन्तर्राष्ट्रिय कूटनीति, सैन्य र व्यापार युद्धसम्मका निर्णय लिन्छन्। भ्रष्टाचारविरोधी अभियानले सतहमा सफाइको सन्देश दिँदै गहिराइमा शक्ति सुदृढीकरणको काम गरेको छ। अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूका अनुसार, यो क्रमले चीनको आन्तरिक स्थिरता र वैश्विक प्रभावमा दीर्घकालीन असर पार्न सक्छ।