इरानका नयाँ सर्वोच्च नेता मुज्तबा खामेनीसँग निकट पारिवारिक सम्बन्ध भएका दुई दाजुभाइले देशकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज ‘नोविटेक्स’ सञ्चालन गरिरहेको खुलासा भएको छ। रोयटर्सको एक खोजमुलक रिपोर्टका अनुसार प्रभावशाली 'खाराजी' परिवारका यी सदस्यहरूले आफ्नो वास्तविक थर लुकाएर यो एक्सचेन्ज स्थापना गरेका थिए। यस प्लेटफर्ममार्फत इरानको केन्द्रीय बैंक र इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स जस्ता पश्चिमा देशहरूले कालोसूचीमा राखेका संस्थाहरूले करोडौँ डलरको कारोबार गरी अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्ध छल्ने गरेको भेटिएको छ।
पहिचान लुकाएर स्थापना गरिएको वित्तीय साम्राज्य
नोविटेक्सका संस्थापक अली र मोहम्मद खाराजीले आफ्नो वास्तविक पहिचान लुकाउन ‘अघामिर’ उपनाम प्रयोग गरेका थिए। इरानको सत्ता प्रतिष्ठानमा यो परिवार तेस्रो पुस्तादेखि हावी छ। उनीहरूका हजुरबुबा अयातोल्लाह मोहसेन खाराजी सर्वोच्च नेता चयन गर्ने परिषद्का सदस्य थिए भने बुबा बागेर खाराजी इरानको हेजबुल्लाह संगठनका संस्थापक हुन्। यो परिवारको नाता सम्बन्ध इरानका संस्थापक आयतोल्लाह खुमेनी र दिवंगत नेता अली खामेनीको परिवारसँग समेत जोडिएको छ।
प्रतिबन्ध छल्ने ‘छाया बैंकिङ’ प्रणाली
इरानको ७० प्रतिशत क्रिप्टो कारोबार नियन्त्रण गर्ने नोविटेक्सका करिब १ करोड १० लाख प्रयोगकर्ता छन्। इरान र अमेरिकाबीचको युद्धका बेला देशभर इन्टरनेट बन्द हुँदा समेत यो एक्सचेन्ज निर्वाध रूपमा सञ्चालन हुनुले यसलाई सरकारी संरक्षण रहेको पुष्टि गर्ने अनुसन्धानकर्ताहरूको दाबी छ। क्रिस्टल इन्टेलिजेन्स र एलीप्टिक जस्ता ब्लकचेन विश्लेषण संस्थाहरूका अनुसार, यस एक्सचेन्जमार्फत इरानी केन्द्रीय बैंकले मात्रै सन् २०२५ को पहिलो ६ महिनामा करिब ३४ करोड ७० लाख डलरको कारोबार गरेको छ।
युद्ध र सत्तासँगको सम्बन्ध
गत फेब्रुअरीमा सर्वोच्च नेता अली खामेनीको हत्यापछि सत्ता सम्हालेका मुज्तबा खामेनीका भाइको विवाह खाराजी परिवारमै भएको छ। युद्धको समयमा जब सर्वसाधारण इरानीहरू इन्टरनेट र बैंकिङ पहुँचबाट काटिएका थिए, तब नोविटेक्समार्फत इरानी उच्च सम्भ्रान्त वर्गले ५ करोड ४० लाख डलर बराबरको सम्पत्ति विदेश पलायन गराएको रिपोर्टमा उल्लेख छ।
यद्यपि, नोविटेक्सले एक विज्ञप्ति जारी गर्दै आफू एक स्वतन्त्र निजी व्यवसाय भएको र सरकार वा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स सँग कुनै सम्बन्ध नरहेको दाबी गरेको छ। कम्पनीले कुनै पनि अवैध कोषको कारोबार व्यवस्थापनको जानकारी बिना नै भएको हुन सक्ने बताएको छ। अमेरिकाले इरानमाथि ‘अधिकतम दबाब’ को नीति लिए पनि यो एक्सचेन्ज अहिलेसम्म प्रत्यक्ष प्रतिबन्धबाट जोगिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। अमेरिकी सिनेटर एलिजाबेथ वारेनले यो रिपोर्टलाई ‘खतराको घण्टी’ भन्दै डिजिटल सम्पत्तिको प्रयोग गरी प्रतिबन्ध छल्ने कार्य रोक्न कडा कदम चाल्नुपर्ने बताएकी छिन्।