• Tuesday, March 3, 2026

मलेसियाको लाङ्कावी नजिकै अवैध आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा २१ जनाको मृत्यु


मलेसियाको लाङ्कावी नजिकै अवैध आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा २१ जनाको मृत्यु भएको पुष्टि भएको छ। यो घटना थाइल्यान्डको सीमा नजिकै भएको छ।
अधिकारिहरूले भने, खोजी–उद्धार कार्य तेस्रो दिन पनि जारी छ। अहिलेसम्म १३ जनालाई उद्धार गरिएको छ, तर दर्जनौँ व्यक्ति अझै बेपत्ता छन्। मलेसियाली कोस्ट गार्डको अनुमान अनुसार डुङ्गामा करिब ७० जना सवार थिए।मलेसियाली अधिकारीहरूको भनाइ अनुसार, डुङ्गामा रहेका अधिकांश यात्री दुई हप्ताअघि म्यानमारको राखाइन राज्यबाट आएका करिब ३०० रोहिंग्या थिए। यसैबीच, २३० यात्रु बोकेको अर्को डुङ्गा अझै बेपत्ता रहेको बताइएको छ।
समुद्री र हवाई खोजी अभियान सात दिनसम्म चल्ने अपेक्षा गरिएको छ। उद्धार गरिएका शवमध्ये कम्तीमा एक जना बच्चाको रहेको पुष्टि भएको छ। उद्धार गरिएका १३ जनामध्ये ११ जना रोहिंग्या र दुई जना बङ्गलादेशी हुन्।
रोहिंग्याहरू म्यानमारका मुस्लिम अल्पसङ्ख्यक समुदाय हुन्, जसलाई नागरिकता दिइएको छैन। अगस्ट २०१७ यता म्यानमार सेनाले गरेको हिंसाका कारण लाखौँ रोहिंग्याहरू बङ्गलादेशतर्फ भागेका थिए। बङ्गलादेशमा पनि द्वन्द्व र जीवन कठिनाइका कारण केही रोहिंग्याहरू मलेसियातर्फ जोखिमपूर्ण डुङ्गा यात्रा गर्न बाध्य भएका छन्।

Please Login to comment in the post!

you may also like