काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले व्यवसायमैत्री वातावरण निर्माण नगरेसम्म देशको आर्थिक गतिविधि चलायमान हुन नसक्ने स्पष्ट पारेका छन्।
चितवनमा आयोजित उद्योग वाणिज्य महासंघ चितवनको ५९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अझै पनि उद्योगी–व्यवसायीलाई हेर्ने सरकारी तथा सामाजिक दृष्टिकोण सकारात्मक नबनेको गुनासो गरे।
उनले हालै भएको ‘जेनजी आन्दोलन’ का क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यस्ता घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा नल्याए आगामी दिनमा पनि यस्तै घटना दोहोरिने चेतावनी दिए।
अध्यक्ष ढकालले लगानीमैत्री नीति, सुरक्षाको प्रत्याभूति र व्यवसायप्रति सम्मानजनक व्यवहार नबनेसम्म देशको अर्थतन्त्रले गति लिन नसक्ने धारणा व्यक्त गरे।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठले संघले उद्योगी–व्यवसायीको हकहित र समस्याको समाधानका लागि निरन्तर सक्रिय भएर काम गरिरहेको बताए।