न्यूजिल्यान्डको सबैभन्दा अग्लो हिमाल आओराकी (माउन्ट कुक) मा दुई जना पर्वतारोहीहरू झरेर मृत्यु भएको छ। यो हिमाल आफ्नो अत्यन्त कठिन र खतरनाक भूभागका लागि कुख्यात छ।चार जनाको समूहमा उक्लिरहेका उनीहरूमध्ये दुई जनाको मृत्यु भएको हो भने बाँकी दुई जना सकुशल छन्। सकुशल दुई जनालाई मंगलबार बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। उनीहरूले आइतबार राति नै आपत्कालीन सेवालाई सम्पर्क गरेका थिए।केही घण्टापछि मृत अवस्थामा भेटिएका दुई आरोहीहरू अझै पनि हार्नेसले जोडिएकै अवस्थामा थिए। तर “अत्यन्त जटिल हिमाली वातावरण” का कारण अहिले पनि शव निकाल्ने प्रयास भइरहेको अधिकारीहरूले बताएका छन्।
३,७२४ मिटर अग्लो यो हिमाल दक्षिण टापुको दक्षिणी आल्प्स श्रृंखलामा पर्छ। ठूला–ठूला हिउँको खाडल र अचानक खराब हुने मौसमका कारण अनुभवी आरोहीहरूलाई पनि माउन्ट कुक चढ्न निकै कठिन मानिन्छ।मृतकहरूको नाम सार्वजनिक गरिएको छैन तर न्यूजिल्यान्डको मिडिया ‘स्टफ’ का अनुसार मृत्यु हुनेमध्ये एक जना अन्तर्राष्ट्रिय स्तरमा चिनिएका प्रसिद्ध माउन्टेन गाइड थिए।लगभग एक वर्षअघि पनि अमेरिका र क्यानडाका तीन जना आरोही यहाँ हराएका थिए। खराब मौसमका कारण खोजी कार्य प्रभावित भएपछि उनीहरूलाई मृत घोषित गरियो तर शव भने कहिल्यै भेटिएन।न्यूजिल्यान्डको आल्पाइन क्लब ‘क्लाइम्बएनजेड’ का अनुसार माउन्ट कुक चढ्ने क्रममा अहिलेसम्म दर्जनौंको मृत्यु भइसकेको छ र प्रायः हरेक सिजनमा कम्तीमा एक जनाको ज्यान जाने गरेको छ।