• Sunday, October 19, 2025

पूर्व फ्रान्सेली राष्ट्रपति सरकोजीलाई लिबियाली भ्रष्टाचार मुद्दामा दोषी ठहर, ५ वर्षको जेल सजाय


पेरिस – फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सरकोजीलाई लिबियाली तानाशाह मुअम्मर गद्दाफीबाट अवैध रूपमा करोडौं युरोको सहयोग लिएको अभियोगमा आपराधिक षड्यन्त्रको दोषी ठहर गरिएको छ। पेरिस फौजदारी अदालतले बिहीबार उनलाई ५ वर्षको जेल सजाय सुनाएको छ, जसले फ्रान्सको आधुनिक इतिहासमा कुनै पनि पूर्व राष्ट्रपतिलाई जेल सजाय हुने पहिलो घटना बनेको छ। ७० वर्षीय सरकोजीले सधैं सबै अभियोग अस्वीकार गर्दै आएका छन् र उनले यो फैसलालाई राजनीतिक प्रतिशोधको रूपमा चित्रण गरेका छन्।यो मुद्दा १० वर्ष लामो भ्रष्टाचार अनुसन्धानको परिणाम हो, जसमा सरकोजीमाथि २००५ देखि २००७ सम्म गद्दाफीको शासनलाई अन्तर्राष्ट्रिय मञ्चमा समर्थन गर्ने साटोमा राष्ट्रपतीय चुनाव अभियानका लागि अवैध सहयोग लिने आरोप लागेको थियो। अदालतले उनलाई अन्य अभियोगहरू जस्तै अवैध चुनावी वित्तपोषण, निष्क्रिय भ्रष्टाचार र सार्वजनिक कोषको दुरुपयोग लुकाउने कसुरमा सफाइ दिएको छ। तर, उनको नजिकका सहयोगीहरूलाई लिबियाली व्यक्तिहरूसँग सम्पर्क गरी अभियान वित्तपोषण खोज्ने प्रयास गरेकोमा आपराधिक षड्यन्त्रको दोषी ठहर गरेको छ।

निकोलस सरकोजी फ्रान्सका दक्षिणपन्थी राजनीतिज्ञ हुन्, जसले २००७ देखि २०१२ सम्म राष्ट्रपतिको रूपमा सेवा गरे। २००७ को राष्ट्रपतीय चुनावमा उनले समाजवादी पार्टीकी सेगोलेन रोयाललाई ५३ प्रतिशत मतले हराएर जित हासिल गरेका थिए। त्यसअघि, २००४ देखि २००७ सम्म उनी युनियन फर ए पपुलर मुभमेन्ट (यूपीएमपी) पार्टीका नेता थिए र राष्ट्रपति जाक चिराकको सरकारमा गृहमन्त्रीको भूमिकामा थिए।उनको राजनीतिक यात्रा विवादास्पद रह्यो। २००८ मा उनले मोडल तथा गायिका कार्ला ब्रुनीसँग विवाह गरे, जसलाई राष्ट्रपतीय कार्यकालमा व्यापक रूपमा प्रचार गरियो। २०१७ मा सक्रिय राजनीतिबाट सन्यास लिए पनि, फ्रान्सको दक्षिणपन्थी राजनीतिमा उनी प्रभावशाली व्यक्तित्व बने। तर, विभिन्न भ्रष्टाचार मुद्दाहरूले उनको छवि धमिलियो। यसै वर्ष उनलाई फ्रान्सको सर्वोच्च सम्मान 'लेजियन अफ अनर' पदकबाट वञ्चित गरियो।यो मुद्दा २०१३ मा सुरु भएको थियो, जसमा सरकोजीमाथि गद्दाफीको शासनसँग 'भ्रष्टाचारपूर्ण सन्धि' गरेको आरोप थियो। अभियोजकहरूका अनुसार, गृहमन्त्री हुँदा सरकोजीले लिबियाली जासुसहरू, हतियार व्यापारीहरू र दोषी ठहर भइसकेका आतंकवादीहरूको नेटवर्कमार्फत पेरिसमा सूटकेसमा ल्याइएको करोडौं युरोको नगदले २००७ को चुनाव अभियान सञ्चालन गरे। यसको साटोमा, उनले गद्दाफीको अलगावग्रस्त शासनलाई पश्चिमी देशहरूमा मान्यता दिलाउने प्रतिबद्धता गरेको दाबी गरियो।

मुद्दामा १२ जना आरोपी थिए, जसमध्ये सरकोजीका पूर्व सहयोगीहरू क्लाउड गुएन्त (पूर्व गृहमन्त्री), ब्रिस होर्टेफ्यु (पूर्व मन्त्री) र एरिक वर्थ (२००७ अभियान कोषाध्यक्ष) थिए। गुएन्तलाई निष्क्रिय भ्रष्टाचार र जालसाजीको दोषी ठहर गरियो, जबकि होर्टेफ्युलाई आपराधिक षड्यन्त्रको। वर्थलाई भने सफाइ दिइयो। फ्रान्स-लेबनानी व्यवसायी जियाद ताकीद्दिन, जो मध्यस्थको रूपमा आरोपित थिए, यो हप्ताको सुरुमा लेबनानमा मृत्यु भएपछि मुद्दाबाट हटाइए। ताकीद्दिनले २०१६ मा मिडियापार्टलाई दिएको बयानमा ५० लाख युरो नगद सरकोजीसम्म पुर्‍याएको दाबी गरेका थिए, तर २०२० मा यो बयान फिर्ता लिएका थिए।

अभियोगहरूमा समावेश सार्वजनिक कोषको दुरुपयोग लुकाउने,निष्क्रिय भ्रष्टाचार,अवैध चुनावी वित्तपोषण।अपराध गर्नका लागि आपराधिक षड्यन्त्र थिए ।

आरोपहरू २०११ मा लिबियाली समाचार संस्थाले सार्वजनिक गरेपछि सुरु भए, जसमा गद्दाफी सरकारले सरकोजीको २००७ अभियानलाई वित्तपोषण गरेको दाबी गरियो। २०१४ मा फ्रान्स २४ च्यानलले गद्दाफीको एक रेकर्डेड अन्तर्वार्ता प्रसारण गर्‍यो, जसमा उनले भनेका थिए, "सरकोजी मानसिक रूपमा कमजोर छ... मेरै सहयोगले उनी राष्ट्रपति बने... हामीले उनलाई जित्न सहयोग दियौं।" गद्दाफीका छोरा साइफ अल-इस्लामले युरो न्यूजलाई भनेका थिए, "यो क्लाउनले हामीलाई धोका दियो, लिबियाली जनतालाई पैसा फिर्ता गर्नुपर्छ।"

२०१२ मा मिडियापार्टले लिबियाली गुप्तचर सेवाको एक नोट प्रकाशित गर्‍यो, जसमा ५ करोड युरोको सहयोग सन्धिको उल्लेख थियो। सरकोजीले यो नोट नक्कली भनेर दाबी गरे, तर फ्रान्सेली मजिस्ट्रेटहरूले यसलाई प्रमाणिक ठहराए। अनुसन्धानमा सरकोजीका सहयोगीहरूका लिबियाली यात्राहरू र अस्पष्ट वित्तीय लेनदेनहरू जाँचिए। अदालतले भने, "पैसाको बाटो धमिलो छ र अभियानमा पुगेको प्रमाण छैन," तर सहयोगीहरूसँग सम्पर्क गरेकोमा षड्यन्त्रको दोषी ठहर्‍यायो।२००७ मा सरकोजीले पेरिसको एलिसी प्रासादमा गद्दाफीको भव्य स्वागत गरे। तर, २०११ को अरब स्प्रिङ्गमा लिबियाली विद्रोहविरुद्ध उनी नै पश्चिमी नेताहरूका अगुवा थिए, जसले नेटोको सैन्य हस्तक्षेपको नेतृत्व गरे। गद्दाफीको विपक्षी शक्तिहरूद्वारा उनको हत्या भयो, जसपछि लिबियाली नेतृत्वले फ्रान्समाथि प्रतिशोधको आरोप लगायो। सरकोजीले अदालतमा भने, "यी दाबीहरू प्रतिशोधपूर्ण छन्, कुन विश्वासिलो बन्न सकिन्छ?"फैसलापछि सरकोजीले पत्रकारहरूसँग भने, "यदि उनीहरूले मलाई जेल सुत्नै चाहन्छन् भने, म जेल सुत्नेछु, तर टाउको ठाडो पारेर।" उनले ५ वर्षको सजायविरुद्ध अपील गर्ने घोषणा गरे, तर अदालतले अपील गर्दा पनि जेल जानुपर्ने जनाएको छ। न्यायाधीश नाथाली गाभारिनोले भनेकी थिइन्, "सरकोजीले आफ्ना सहयोगीहरूलाई लिबियालीहरूसँग सम्पर्क गर्न अनुमति दिए, जसले अभियान वित्तपोषण खोजेको थियो।" सरकोजीका पत्नी कार्ला ब्रुनीसँगै अदालतबाट बाहिर निस्कँदा उनले यो फैसलाले फ्रान्सको छवि धमिलिएको बताए।यो पहिलो पटक होइन। २०२३ मा सरकोजीमाथि साक्षी हेरफेरको आरोप लाग्यो, र ब्रुनीमाथि प्रमाण लुकाउने। २०२४ मा फ्रान्सको सर्वोच्च अदालतले २०२१ को भ्रष्टाचार र प्रभाव व्यापार मुद्दामा १ वर्षको घर नजरबन्दी र इलेक्ट्रोनिक ब्रासलेटको सजाय कायम राख्यो, जसलाई पछि हटाइयो। उनले यो मुद्दालाई युरोपेली मानवअधिकार अदालतमा लग्ने बताए। अर्को मुद्दामा, २०१२ को असफल पुनः चुनाव अभियानमा खर्च सीमा उल्लङ्घन गरेकोमा ६ महिनाको जेल सजाय पाए, जसलाई अपील अदालतले कायम राख्यो।

यो फैसलाले फ्रान्सको राजनीतिक इतिहासमा नयाँ अध्याय थपेको छ। सरकोजीका समर्थकहरूले यसलाई राजनीतिक प्रतिशोध ठान्छन्, जबकि आलोचकहरूले यसलाई न्यायको विजय भनेका छन्। फ्रान्सेली राजनीतिमा भ्रष्टाचारविरुद्धको लडाइँ अझ तीव्र बन्दै गएको छ।

Please Login to comment in the post!

you may also like