युवावस्थामा मदिरा सेवनले मस्तिष्कको विकासमा दीर्घकालीन नकारात्मक असर पार्ने वैज्ञानिक अध्ययनहरूले देखाएका छन् । हालै प्रकाशित विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानअनुसार १८ देखि २५ वर्षसम्मको उमेर समूहमा मस्तिष्क पूर्ण रूपमा परिपक्व भइसकेको हुँदैन । यस्तो अवस्थामा मदिरा सेवन गर्दा निर्णय क्षमता, आत्मनियन्त्रण र संज्ञानात्मक विकासमा गम्भीर असर पर्न सक्ने विज्ञहरूको चेतावनी छ ।बेलायत, अमेरिका र युरोपका अनुसन्धानकर्ताहरूका अनुसार किशोर तथा युवा उमेरमा मदिरा सेवनले मस्तिष्कको ‘ग्रे म्याटर’ छिटो घट्ने र ‘ह्वाइट म्याटर’को विकास अवरुद्ध हुने देखिएको छ । ह्वाइट म्याटर मस्तिष्कका विभिन्न भागलाई जोड्ने महत्त्वपूर्ण संरचना हो, जसले सोच्ने, योजना बनाउने र समस्या समाधान गर्ने क्षमतामा भूमिका खेल्छ ।
अमेरिकाको साउथ क्यारोलाइना मेडिकल विश्वविद्यालयकी न्युरोसाइकोलोजिस्ट लिन्डसे स्क्वेग्लियाका अनुसार किशोरावस्थामा मस्तिष्कको ‘लिम्बिक सिस्टम’ (आनन्द र पुरस्कारसँग सम्बन्धित भाग) छिटो विकसित हुन्छ भने निर्णय र आत्मनियन्त्रणसँग सम्बन्धित ‘प्रिफ्रन्टल कोर्टेक्स’ ढिलो विकसित हुन्छ । “यसले युवाहरूलाई जोखिमपूर्ण व्यवहारतर्फ बढी आकर्षित बनाउँछ,” उनी भन्छिन्, “र मदिराले यो जोखिम झन् बढाइदिन्छ।”अनुसन्धानले प्रारम्भिक उमेरमै मदिरा सेवन सुरु गर्ने युवामा पछि गएर मानसिक स्वास्थ्य समस्या र मदिरा दुर्व्यसनको जोखिम बढी हुने देखाएको छ । विशेषगरी परिवारमा मदिरा दुर्व्यसनको इतिहास भएकाहरूमा यो जोखिम अझ उच्च हुने वैज्ञानिकहरू बताउँछन् ।
कतिपय युरोपेली मुलुकमा परिवारसँगै भोजन गर्दा सानो मात्रामा मदिरा सेवन गराउनु सुरक्षित मानिने धारणा रहे पनि नयाँ अनुसन्धानले यसलाई मिथक सावित गरेको छ । विज्ञहरूका अनुसार अभिभावकले मदिरा सेवनमा कडाइ नगर्दा किशोरहरूमा पछि गएर बढी समस्या देखिने सम्भावना रहन्छ ।अस्ट्रियामा गरिएको एक अध्ययनले १६ वर्षमै मदिरा किन्न पाइने व्यवस्था हुँदा त्यहाँ मदिरा सेवनको जोखिम अमेरिका (जहाँ न्यूनतम उमेर २१ वर्ष छ) भन्दा बढी देखिएको निष्कर्ष निकालेको छ । अध्ययनकर्ता अलेक्जेन्डर आमरका अनुसार “मदिरा कानुनी भएपछि किशोरहरूले यसलाई कम जोखिमपूर्ण ठान्ने प्रवृत्ति देखिन्छ, जुन खतरनाक हुन सक्छ।”विश्व स्वास्थ्य संगठनले पनि मदिरा सेवन सुरक्षित मात्रामा भन्ने अवधारणा नहुने स्पष्ट पार्दै, हल्का र मध्यम सेवनबाट समेत क्यान्सरसहित विभिन्न रोगको जोखिम हुने जनाएको छ ।
विज्ञहरूका अनुसार मदिरा सेवनको कानुनी उमेर बढाउने विषय राजनीतिक र सामाजिक रूपमा जटिल भए पनि युवालाई मस्तिष्क विकास र मदिराको असरबारे वैज्ञानिक जानकारी दिनु अत्यावश्यक छ । “युवाले आफैं जिम्मेवार निर्णय गर्छन् भन्ने मान्यता मात्र पर्याप्त छैन,” क्यानडाका अनुसन्धानकर्ता जेम्स म्याककिलप भन्छन्, “उनीहरूलाई सही जानकारी दिनु जरुरी छ।”अनुसन्धानकर्ताहरूको साझा सन्देश स्पष्ट छ—मदिरा सेवन सकेसम्म ढिला सुरु गर्नु मस्तिष्क र समग्र स्वास्थ्यका लागि लाभदायक हुन्छ । युवावस्थामा गरिने सानो लापरवाहीले भविष्यमा ठूला स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकाले सचेत निर्णय आवश्यक रहेको उनीहरूको भनाइ छ ।