अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भेनेजुएलाको तट नजिक अमेरिकाले एक ठूलो तेल ट्याङ्कर नियन्त्रणमा लिएको पुष्टि गरेका छन्। ट्रम्पले भने,“हामीले हालसालै भेनेजुएलाको तटबाट एउटा ठूलो—सायद इतिहासकै सबैभन्दा ठूलो—ट्याङ्कर कब्जा गरेका छौँ।”
अमेरिकी एटर्नी जनरल पाम बोन्डीले ‘X’ मा पोस्ट गरेको भिडियोमा एफबीआई, होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसन र यूएस कोस्ट गार्डका सशस्त्र कर्मचारीहरू हेलिकोप्टरबाट रसीमार्फत ट्याङ्करमा उत्रिएको देखिन्छ। उनका अनुसार यो ट्याङ्कर भेनेजुएला र इरानका प्रतिबन्धित तेल ढुवानीमा संलग्न अवैध नेटवर्क सँग जोडिएको थियो।“स्किपर” नामको उक्त ट्याङ्कर ले भेनेजुएली क्रुड ओइल बोकेको र अन्तर्राष्ट्रिय पानी क्षेत्रमा कुनै घटना वा चोटपटक बिना नै कब्जा गरिएको अमेरिकी अधिकारीहरूले जनाएका छन्। अमेरिकी अदालतले इरानी तेल सँग सम्बन्धित भएकै कारण यसमा कब्जा आदेश जारी गरेको थियो।यस कदमले भेनेजुएलासँगको तनाव झन् बढ्ने आँकलन भइरहेको छ। राष्ट्रपति ट्रम्पले निकोलास मदुरोमाथि दबाब बढाउने रणनीति अपनाइरहेका छन्। अमेरिकाले हालसम्म क्यारिबियन क्षेत्रमा युद्धपोत तथा हजारौँ सैनिक परिचालन, ‘ड्रग–बोट’माथि हमला र थप कदमको चेतावनी दिँदै आएको छ।भेनेजुएलाले भने यसलाई “अन्तर्राष्ट्रिय समुद्री डकैती” भन्दै कडा विरोध गरेको छ।
उनहरूका अनुसार, “यो सबैको मूल कारण तेल, ऊर्जा र प्राकृतिक स्रोतहरूको लोभ हो, जुन भेनेजुएलाली जनताको सम्पत्ति हो।”उक्त ट्याङ्कर क्यूबातर्फ गइरहेको र अन्ततः एसियामा बेच्ने तयारी रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्। क्यूबाले भने यसबारे तत्काल प्रतिक्रिया दिएको छैन।