• Tuesday, March 3, 2026

नेपाल प्रहरीको ‘राजनीतिक रिटायरमेन्ट प्लान’


नेपालको प्रहरी इतिहास हेर्ने हो भने एउटा अनौठो शृङ्खला देखिन्छ— आईजीपी बन्न नपाएका वा बढुवामा ठगिएको ठानेका उच्च अधिकृतहरू अवकाशपछि सिधै राजनीतिक पार्टीको ढोका ढक्ढक्याउँछन्। विश्वराज पोखरेलले शुक्रबार घण्टीको माला लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि यो शृङ्खला फेरि एकपटक चर्चामा आयो। उनी एक्ला होइनन्। नवराज सिलवाल, सर्वेन्द्र खनाल, रमेश खरेल, मोतिलाल बोहोरा, ध्रुवबहादुर प्रधान, रवीन्द्रप्रताप शाह— नामहरू लामै बन्छ। यी सबैको कथामा एउटा समान धुन बज्छ : “मलाई अन्याय भयो, अब जनताको अदालतबाट न्याय लिन्छु।” तर प्रश्न उठ्छ— के यो साँच्चै अन्यायको बदला हो ? कि यो केवल शक्तिको भोकको अर्को रूप हो ?

विश्वराज पोखरेलको कथा पनि त्यही पुरानो कथाको नयाँ अध्याय मात्र हो। केपी ओली प्रधानमन्त्री रहेसम्म उनी आईजीपीको सबैभन्दा बलियो दाबेदार थिए। ईश्वर पोखरेल गृहमन्त्री भएका बेला त उनले बढुवा प्रक्रियालाई नै आफूअनुकूल मोड्न खोजेका थिए। तर ओली सरकार ढलेपछि शेरबहादुर देउवा प्रधानमन्त्री बने, धीरजप्रताप शाह आईजीपी बने, अनि पोखरेलले राजीनामा दिएर बाहिरिए। त्यही बेलादेखि उनको मनमा एउटा आगो बलिरहेको थियो— “मलाई राजनीतिक षड्यन्त्रले हरायो।” तीन वर्षपछि त्यही आगोले रास्वपाको ढोका ढकढक्यायो।यो आगो नयाँ होइन। नवराज सिलवालले कार्यसम्पादन मूल्याङ्कन किर्ते गरेको अभियोग लागेपछि एमालेको सान्त्वना खोजे। सर्वेन्द्र खनालले जसपा सांसद अपहरण काण्डको छायाँबाट बँच्न ओलीको काख खोजे। रमेश खरेलले जनताको सेलिब्रेटी छविलाई भोटमा बदल्ने सपना देखे। मोतिलाल बोहोराले अख्तियारको फन्दाबाट बँच्न कांग्रेसको छहारी लिए। ध्रुवबहादुर प्रधानले अख्तियारको छानबिनबाट जोगिन राप्रपाको टिकट लिएर मन्त्रीसम्म बने। सबैको कथामा एउटै स्वाद— शक्तिको निरन्तरता र बचावटको चाहना।प्रहरीको जागिर भनेको अनुशासित जीवन हो। ऊर्दीमा बिताएको तीस वर्षमा एउटा मानिसले आदेश दिने र लिने बानी बस्छ। ऊर्दी खोलेपछि पनि त्यो बानी मर्दैन। बरु अझ तीव्र हुन्छ। ऊर्दीमा हुँदा जुन शक्ति प्रयोग गर्थे, त्यो शक्ति अब ऊर्दी बाहिर पनि चाहिन्छ। तर ऊर्दी बाहिर शक्ति कसरी प्राप्त गर्ने ? राजनीति सबैभन्दा सजिलो बाटो बन्छ। त्यहाँ टिकट पाउनु छ, चुनाव जित्नु छ, अनि फेरि शक्ति प्रयोग गर्न पाइन्छ— यसपटक ऊर्दीको होइन, जनादेशको नाममा।यो मनोविज्ञानलाई गहिरिएर हेर्ने हो भने हाम्रो समाजमा “शक्ति” लाई नै सफलताको एकमात्र मापदण्ड बनाइएको छ। प्रहरी अधिकृतहरूले तीस वर्षसम्म शक्तिको चरम प्रयोग गरे। उनीहरूलाई थाहा छ— शक्तिले सबैथोक सम्भव छ। पैसा, सम्मान, सुरक्षा, प्रभाव— सबै शक्तिकै वरिपरि घुम्छ। ऊर्दी खोलेपछि त्यो शक्ति एकैचोटि गुम्छ। त्यो शून्यता सहन गाह्रो हुन्छ। त्यसैले राजनीति एउटा सजिलो डुङ्गो बन्छ— जसले फेरि पनि शक्तिको किनारमा पुर्‍याउँछ।

अर्कोतर्फ बचावटको मनोविज्ञान पनि कमजोर छैन। सेवामा रहँदा जति पनि कमजोरी, भ्रष्टाचार, दुरुपयोग भए, ती सबै ऊर्दीले ढाक्छ। ऊर्दी खोलेपछि ती कमजोरीहरू नाङ्गिन्छन्। अख्तियार, अदालत, सञ्चारमाध्यम सबैले खोतल्न थाल्छन्। त्यो बेला राजनीतिक शक्ति एउटा बलियो कवच बन्छ। नवराज सिलवाललाई किर्ते मुद्दाले पछ्याइरहेको थियो, मोतिलाल बोहोरालाई सम्पत्ति शुद्धीकरणको शङ्का, ध्रुवबहादुर प्रधानलाई अख्तियारको फाइल— सबैले राजनीतिको ढाल प्रयोग गरे। विश्वराज पोखरेलमाथि अहिलेसम्म ठूलो अभियोग लागेको छैन, तर उनले पनि त्यही ढाल खोजेका हुन् कि भनेर शङ्का गर्न सकिन्छ।यो प्रवृत्तिले प्रहरी संगठनको विश्वसनीयतामाथि पनि प्रश्न उठाउँछ। जब उच्च अधिकृतहरू अवकाशपछि सिधै राजनीतिक दलको झोला बोक्न थाल्छन्, तब सर्वसाधारणले सोच्छन्— “हिजो ऊर्दीमा हुँदा पनि यिनीहरू कुनै न कुनै दलको कार्यकर्ता थिए कि क्या हो ?” प्रहरीको तटस्थता र निष्पक्षतामाथि जनताको विश्वास डगमगाउँछ।तर सबैलाई एउटै डालोमा हालेर हेर्न पनि मिल्दैन। कोही साँच्चै देश परिवर्तन गर्न चाहन्छन् भन्ने दाबी गर्छन्। रमेश खरेलले सुशासनको नारा लिएर आए, विश्वराज पोखरेलले रवि लामिछानेमाथिको “अन्याय” को कुरा गरे। तर जब चुनावमा पराजय हुन्छ, जब टिकट पाइँदैन, तब ती ठूला ठूला सपनाहरू एकैछिनमा हराउँछन्। रमेश खरेल टेलिभिजन स्टुडियोमा पुगे, सर्वेन्द्र खनाल नयाँ पार्टी खोलेर बसे, नवराज सिलवाल मौन छन्। अर्थात्, नारा ठूला थिए, तर आधार कमजोर थियो।नेपालमा प्रहरी अधिकृतहरूको यो राजनीतिक यात्रालाई रोक्न कानुनी उपाय पनि छैन। अवकाशपछि जोसँग जे मन लाग्छ, त्यही गर्न पाइन्छ। तर नैतिक रूपमा यो प्रश्न गम्भीर छ। एउटा अनुशासित संगठनको उच्च अधिकारीले अवकाशपछि सिधै कुनै दलको झण्डा बोक्नु संगठनको गरिमामाथिको आघात हो। यो प्रवृत्तिले प्रहरीभित्रै पनि एउटा सन्देश जान्छ— “पद र शक्तिको लागि जे पनि गर्नुपर्छ, ऊर्दीभित्र नपाए ऊर्दीबाहिर खोज्नुपर्छ।”

विश्वराज पोखरेलको रास्वपा प्रवेश एउटा व्यक्तिगत निर्णय मात्र होइन, यो नेपालको प्रहरी–राजनीति सम्बन्धको विकृत चित्र हो। जबसम्म हामीले शक्तिलाई सफलताको एकमात्र मापदण्ड मानिरहन्छौँ, तबसम्म ऊर्दी खोलेका अधिकृतहरूले फेरि पनि झोला बोक्नेछन्— कहिले घण्टीको, कहिले सूर्यको, कहिले रुखको। र हरेकपटक भन्नेछन्— “मलाई अन्याय भयो, अब जनताको अदालतमा जान्छु।” तर सत्य यो हो— यो अन्यायको बदला होइन, शक्तिको निरन्तरताको खोज हो। र यो खोज कहिल्यै सकिँदैन।

Please Login to comment in the post!

you may also like