• Sunday, October 19, 2025

काग तिहार आज मनाइँदै, यमराजको दूतका रूपमा कागको पूजा


काठमाडौं– प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो–मीठो खानेकुरा खुवाएर हर्षोल्लासका साथ मनाइँदै छ। बिहान सूर्योदयकालमा त्रयोदशी तिथि परेका कारण शास्त्रसम्मत् रूपमा आज आइतबार काग तिहार मनाउने निर्णय भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए।शास्त्रीय मान्यताअनुसार यमराजले कागमार्फत संसारको खबर प्राप्त गर्ने भएकाले कागलाई यमदूतका रूपमा सम्मान गरिन्छ। कागले यमराजसमक्ष राम्रो सन्देश पुर्‍याओस् भन्ने कामनासहित आज कागलाई पूजा–आराधनासहित दही–भातजस्ता मीठा परिकार खुवाउने प्रचलन छ। लोक विश्वासमा काग घर वरपर आएर कराएमा शुभ बोल, शुभ बोल भन्दै स्वागत गर्ने र खबर लिएर आएको मान्ने चलन छ। ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही–भात मनपर्ने भएकाले यो परिकार खुवाउँदा यमराजलाई सकारात्मक सन्देश पुग्ने विश्वास गरिन्छ।

यस अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ मा रहेको कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजा–आराधना हुने गर्छ। हनुमानढोकामा कागको ठूलो मूर्ति स्थापना गरिएको छ, जहाँ भक्तजनले विशेष पूजा गर्ने गर्छन्।तिहार पर्व यमराजसँग पनि जोडिएको छ, जसले दुष्कर्म गर्नेलाई दण्ड र सत्कर्म गर्नेलाई रक्षा गर्ने विश्वास छ। यमयातनाबाट मुक्तिका लागि शनिबार साँझदेखि नै यम दीपदान सुरु भएको छ। दक्षिण फर्काएर गरिने यो दीपदानले यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ।यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक शनिबार साँझदेखि नै सुरु भएको छ। शनिबार नै धनतेरस पर्व मनाइएको थियो, जसमा लक्ष्मी घरमा स्थिर रहोस् भन्ने विश्वासले गरगहना र तामाका भाँडाकुँडा किन्ने प्रचलन छ। काग तिहारसँगै तिहारको उत्साह देशभर फैलिएको छ।

Please Login to comment in the post!

you may also like