• Thursday, March 5, 2026

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी ‘निर्वाचन प्रहरी’ माग


काठमाडौं। सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक सूचना प्रकाशित गर्दै देशभर आवश्यक जनशक्ति माग गरिएको जानकारी दिएको हो।

यसअघि निर्वाचनका लागि ‘म्यादी प्रहरी’ शीर्षकमा भर्ना गरिँदै आएकोमा यसपटक नाम परिवर्तन गरी निर्वाचन प्रहरी राखिएको छ। निर्वाचन सुरक्षामा खटिन इच्छुक नेपाली नागरिकले पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन्।

प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागका अनुसार सार्वजनिक बिदाको दिनसमेत दरखास्त संकलन गरिनेछ। काठमाडौं उपत्यकाका तीन जिल्ला प्रहरी परिसर तथा देशभरका सबै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त फाराम लिन र बुझाउन सकिने व्यवस्था गरिएको छ।

साधारण लेखपढ गर्न जान्ने, १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले निर्वाचन प्रहरीमा आवेदन दिन पाउनेछन्। आवेदन परेका उम्मेदवारहरूमध्ये माघ ५ गतेदेखि ९ गतेसम्म छनोट प्रक्रिया सञ्चालन गरिनेछ भने माघ १२ गते अन्तिम नतिजा प्रकाशित गरिने जनाइएको छ।

छनोटमा परेका उम्मेदवारले माघ १५ गतेदेखि २४ गतेसम्म तालिम लिनुपर्नेछ। निर्वाचन प्रहरीको कार्य अवधि ४० दिनको रहनेछ।

निर्वाचन प्रहरीलाई ४० दिनको अवधिका लागि ३४ हजार ७७६ रुपैयाँ तलब सुविधा प्रदान गरिनेछ। यसका साथै रासन तथा आउजाउ खर्चबापत ८४६ रुपैयाँ अतिरिक्त दिइनेछ। तालिम अवधिका ४ दिनका लागि दैनिक ३०० रुपैयाँ का दरले खाजा खर्च उपलब्ध गराइनेछ। पोसाकबापतको रकम भने छुट्टै व्यवस्था गरी प्रहरी प्रधान कार्यालयले उपलब्ध गराउने जनाएको छ।

सरकारले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन आवश्यक जनशक्ति परिचालनलाई प्राथमिकतामा राख्दै निर्वाचन प्रहरी भर्ना प्रक्रिया अघि बढाएको जनाएको छ।

Please Login to comment in the post!

you may also like