• Tuesday, March 3, 2026

नेपाली कांग्रेसद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार टुङ्गो, कार्यसम्पादन समितिबाट अनुमोदन


काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ। पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले संसदीय समितिबाट प्रस्तावित उम्मेदवारहरूको सूची अनुमोदन गरेको हो।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार संसदीय समितिको बैठकले गरेको उम्मेदवार मनोनयनसम्बन्धी निर्णयलाई कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको हो।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कांग्रेसले कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेस प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रञ्जित कर्ण (अपाङ्गता/अल्पसंख्यक)लाई उम्मेदवार बनाएको छ।

त्यसैगरी बागमती प्रदेशबाट गीता देवकोटा (महिला), गण्डकी प्रदेशबाट जगत् तिमिल्सिना (अन्य), लुम्बिनी प्रदेशबाट वासुदेव जंगली (अपाङ्गता/अल्पसंख्यक) र चन्द्रबहादुर केसी (अन्य) उम्मेदवार चयन भएका छन्। कर्णाली प्रदेशबाट ललितजंग शाही (अन्य) र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (अन्य)लाई पनि उम्मेदवार बनाइएको छ।

आजको बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर र महेन्द्र यादव, केन्द्रीय सदस्यहरू विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत तथा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले समसामयिक राजनीतिक विषयमा धारणा राखेका थिए।

Please Login to comment in the post!

you may also like