काठमाडौं, ४ कार्तिक २०८२ – नेपाली साहित्यका शिखर पुरुष महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइँदै छ। १९६६ साल कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा अमर योगदान दिएका छन्। उनको साहित्यिक कृतित्व र व्यक्तित्वले नेपाललाई विश्वमाझ चिनाउने महत्त्वपूर्ण भूमिका खेलेको छ।दश वर्षको उमेरमा कविता लेखन सुरु गरेका देवकोटाले छोटो जीवनकालमा सयभन्दा बढी कृति नेपाली साहित्यलाई प्रदान गरे। उनका महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविताहरूले नेपाली साहित्यलाई समृद्ध बनाएका छन्। उनको सबैभन्दा चर्चित खण्डकाव्य ‘मुनामदन’ हालसम्म नेपाली भाषामा सर्वाधिक बिक्री हुने पुस्तकका रूपमा स्थापित छ। यो कृति नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनीको प्रतीक पनि हो।
महाकवि देवकोटालाई नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक मानिन्छ। उनका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता प्रष्ट झल्कन्छ। पूर्वीय र पाश्चात्य दर्शनको संयोजन उनको साहित्यको विशेषता हो। भारतका प्रख्यात विद्वान् राहुल सांकृत्यायनले देवकोटालाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशंकरप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए। यस्तै, नाट्यसम्राट बालकृष्ण समले देवकोटाको ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितालाई उनको तीनपटकको जन्मसँग तुलना गरेका थिए।देवकोटाले नेपाली साहित्यलाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण योगदान दिए। उनले विदेशी साहित्यका कृतिहरू नेपालीमा अनुवाद गरेका छन् भने नेपाली कृतिहरूलाई अंग्रेजीमा अनुवाद गरी अन्तर्राष्ट्रिय मञ्चमा पुर्याएका छन्। १९९७ सालमा प्रकाशित ‘प्रसिद्ध प्रबन्ध संग्रह’ मा उनले फ्रान्सिस बेकन, चार्ल्स ल्यासजस्ता १५ जना अंग्रेजी गद्य लेखकका निबन्धहरूको चयन गरेर प्रकाशित गरेका थिए। यस्तै, ‘पागल’ कविता उनले आफैँ अंग्रेजीमा अनुवाद गरेका छन् भने ग्रीसेली स्रोतबाट ‘मायाविनी’, ‘सुन्दरी प्रोजर्पिना’ र ‘प्रमिथस’ जस्ता कृतिहरू नेपालीकरण गरेका छन्।देवकोटाको साहित्यिक प्रतिभा मात्र होइन, उनको सामाजिक र शैक्षिक योगदान पनि उत्तिकै महत्त्वपूर्ण छ। २०१६ सालमा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा उनले नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गरे। वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा उनको सक्रिय योगदान अविस्मरणीय छ। उनको अद्भुत लेखन क्षमता तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमा ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखनबाट प्रष्ट हुन्छ।चरम आर्थिक अभाव, पारिवारिक वियोग र राजनीतिक सक्रियताका बीच पनि देवकोटाले उच्चस्तरको साहित्य सिर्जना गरे। उनको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र संख्यात्मक योगदान आज पनि अद्वितीय छ। उनको जीवन र साहित्यले नेपाली साहित्यलाई समृद्ध बनाउनुका साथै विश्व साहित्यमा नेपालको पहिचान स्थापित गरेको छ।
आज उनको ११७औँ जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्यिक संस्थाहरू र विश्वविद्यालयहरूले कविता वाचन, साहित्यिक गोष्ठी, पुस्तक प्रदर्शनी र विचार–विमर्शका कार्यक्रमहरू आयोजना गर्दैछन्। यस्तै, विदेशमा रहेका नेपाली समुदायले पनि उनको साहित्यिक योगदानको कदर गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन्।महाकवि देवकोटाको साहित्यिक विरासतले नेपाली साहित्यलाई विश्वमाझ उभ्याएको छ। उनको सिर्जनाले आज पनि साहित्यप्रेमीहरूलाई प्रेरणा प्रदान गरिरहेको छ।