• Tuesday, March 3, 2026

दिल्लीमा कूटनीतिक त्रिकोण: मोदी, पुटिन र ट्रम्प एउटै फ्रेममा!!


रूसका राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार नयाँ दिल्ली विमानस्थलमा झरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई अँगालो हाल्दै स्वागत गरे। पश्चिमबाट बढ्दो दबाबका बीच, रूसका लागि भारत अझै महत्वपूर्ण साझेदार रहेको संकेत यसले दियो। छोटो संस्कृतिक कार्यक्रम हेरेपछि दुई नेताहरू एउटै गाडीमा बसेर मोदीको निवासतर्फ निजी भोजका लागि प्रस्थान गरे।तर पुटिनलाई अँगालो हाल्दै गर्दा पनि मोदी अमेरिकी साझेदारी मजबुत बनाउने प्रयासमा छन्। एकातिर सस्तो र रूसी तेल, सम्भावित आधुनिक लडाकु विमान खरिद र शीतयुद्धकालीन मित्रता; अर्कोतिर अमेरिकासँग प्रविधि, व्यापार र निवेश सहयोग—यही ‘दोहोरो कूटनीति'मा भारत अघि बढिरहेको छ।युक्रेनमाथि रूसको आक्रमणपछि भारतले आफ्नो विशाल बजार र इंडो–पैसिफिक क्षेत्रको रणनीतिक महत्व प्रयोग गर्दै वाशिंगटन र क्रेमलिन दुबैलाई आफ्नो तर्फ तानिरहेको छ। पुटिनको यो भारत यात्रा युद्धपछि पहिलो हो, तर मोदीका लागि संवेदनशील समय पनि हो।

अमेरिकाले भारतमाथि लगाएको ५०% शुल्क—जसमध्ये आधा सस्तो रूसी तेल खरिदको दण्डस्वरूप—पछि नयाँ दिल्ली वाशिंगटनसँग नयाँ व्यापार सम्झौतामा काम गरिरहेछ। अमेरिकालाई सन्तुष्ट बनाउन भारतले रूसी तेल खरिद घटाएको र अमेरिकी तरल पेट्रोलियम ग्यास  किनेको छ। तर पुटिनसँगको वार्तामा पुनः महत्वपूर्ण रक्षा सम्झौताहरू एजेन्डामा छन्, किनकि भारतलाई पाकिस्तान र चीनसँगको तनावका बीच आफ्ना रक्षा क्षमताहरू अझै बलियो पार्नुपर्नेछ।दिल्लीका सडकहरूमा रूसी र भारतीय झण्डाहरू फहरािरहेका छन्, जसले भारतले पश्चिम वा चीन कुनै एकतर्फ झुकेर होइन, आफूले विकल्पहरू खुला राखेको सन्देश दिन खोजेको विश्लेषकहरूको भनाइ छ।

भारत–रूस मित्रता धेरै पुरानो हो। शीतयुद्धयताकै सहयोग र अमेरिका–पाकिस्तान नजिकिएको समयमा रूस भारतको मुख्य रक्षा साझेदार बनेको थियो। अहिले पनि भारतले धेरै सैन्य उपकरण रूसबाटै खरिद गर्छ। चीनसँगको सीमा तनाव र पाकिस्तान–चीन रक्षा सहकार्यका कारण भारतका लागि रूसी हतियार अझै रणनीतिक रूपमा जरूरी मानिन्छ।पुटिनको यस यात्रामा अत्याधुनिक रूसी लडाकु विमान Su-57 का बारेमा सम्भावित सम्झौता पनि छलफलमा पर्ने जनाइएको छ। तर हालै अमेरिकाले रूसमाथि नयाँ प्रतिबन्ध र भारतमाथि उच्च शुल्क लगाएपछि भारत–अमेरिका सम्बन्ध तनावग्रस्त बनेको छ। यही दबाबकै बीच मोदी केही समयअघि सात वर्षपछि चीन भ्रमणमा समेत गएका थिए, जसलाई पश्चिमलाई ‘सन्देश’का रूपमा हेरिन्छ।यद्यपि भारत–अमेरिका सहयोग अझै जारी छ। दुबै देशले १० वर्षे प्रविधि तथा रक्षा सहकार्य फ्रेमवर्कमा सहमति जनाएका छन्, र व्यापार सम्झौता वर्षअन्त्यसम्म सम्पन्न हुने भारतको अपेक्षा छ।विशेषज्ञहरू भन्छन्—भारतले अमेरिका र रूसबीच सन्तुलन कायम राख्ने आफ्नो नीति छोडेको छैन। तर पुटिनको यो यात्रा र सम्भावित रक्षा सम्झौताले वाशिंगटनको ध्यान फेरि भारततर्फ केन्द्रित गराउने निश्चित छ।

Please Login to comment in the post!

you may also like