• Tuesday, March 3, 2026

तामझामविहीन मन्त्री : सादगी र अनुशासनको नयाँ मानक बने अर्थमन्त्री खनाल


काठमाडौं। सार्वजनिक कार्यक्रममा देखिने परम्परागत तामझाम, खादा–माला र भीआईपी संस्कृतिलाई तोड्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आफूलाई सादगी, समयपालन र जिम्मेवारीको प्रतीकका रूपमा स्थापित गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत उनले कार्यक्रममा सहभागी हुने आफ्ना स्पष्ट मापदण्ड सार्वजनिक गर्दै सरकारी कार्यक्रमको स्वरूप नै परिवर्तन गर्ने संकेत दिएका हुन्।

नेपालमा औपचारिक कार्यक्रम भन्नासाथ लामो स्वागत, फूलगुच्छा, अबीर, खादा–माला र प्रमुख अतिथिको भव्य आसन ग्रहण परम्परा झल्किन्छ। तर अर्थमन्त्री खनालका लागि सार्वजनिक कार्यक्रम देखावटी होइन, उत्तरदायित्व र सन्देश प्रवाह गर्ने माध्यम हो। त्यसैले उनका कार्यक्रममा न प्रमुख अतिथि बन्ने चाहना हुन्छ, न त खादा, माला, अबीर वा फूलगुच्छा स्वीकार गर्ने प्रचलन। बाहिर उभिएर गरिने स्वागत र विशेष आसन ग्रहण गर्ने परम्परालाई समेत उनले अस्वीकार गरेका छन्।

समय मिलेको खण्डमा उनी हलमा सुटुक्क प्रवेश गरी तोकिएको सामान्य सिटमै बस्छन्। बोल्नै परे अधिकतम पाँच मिनेटभित्रै आफ्नो धारणा राख्छन्।
‘समय मिले म खुसुक्क हलमा छिर्छु, तोकेको सिटमा बस्छु, बोल्न भनिए पाँच मिनेट मात्र बोल्छु। मायाको चिनो न लिन्छु, न दिन पाइन्छ,’ उनले सामाजिक सञ्जालमा स्पष्ट गरेका छन्।

कार्यक्रममा आकस्मिक कारणले उपस्थित हुन नसक्ने अवस्था आएमा पनि सोही दिन आयोजकलाई जानकारी गराउने व्यवस्था उनले अपनाएका छन्। यसले कार्यक्रम व्यवस्थापनलाई सहज बनाउनुका साथै समयको मूल्य र अनुशासनलाई प्राथमिकतामा राख्ने उनको कार्यशैली झल्काउँछ।

अर्थमन्त्री खनालको यो सादगीपूर्ण अभ्यासले सार्वजनिक पदमा बसेकाहरूका लागि नयाँ उदाहरण प्रस्तुत गर्नुका साथै सरकारी कार्यक्रमलाई परिणाममुखी र व्यवहारिक बनाउने सन्देश पनि दिएको छ।

Please Login to comment in the post!

you may also like