काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कार्तिक १४ गतेदेखि सुरु गरेको सामुदायिक कुकुर बन्ध्याकरण अभियानअन्तर्गत एक महिनाको अवधिमा २ हजार ८३ वटा कुकुरको बन्ध्याकरण सम्पन्न गरेको छ। पशु कल्याणमा क्रियाशील पाँच विभिन्न संघ–संस्थाको सहकार्यमा सञ्चालन भइरहेकाे अभियानमा पशु कल्याणका सबै मापदण्ड पालना गरिएको महानगरले जनाएको छ।
कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार बन्ध्याकरणका हरेक चरणमा महानगरले निरन्तर अनुगमन गर्दै आएको छ। उनकाे भनाइमा, कुकुरलाई पक्रने, अपरेशन गर्ने, आराम गराउने र पुनःस्थापना गर्ने प्रक्रियामा कुनै प्रकारको पीडा नहोस भन्ने कुरामा विशेष ध्यान दिइएको छ। बन्ध्याकरणपछि कुकुरलाई कम्तीमा २४ घण्टा चिकित्सकीय निगरानीमा राखिने व्यवस्था पनि गरिएको छ। यद्यपि, अपरेशनपछि पुनःस्थापित एक कुकुर गाडीको ठक्करबाट मृत्यु भएको घटनालाई महानगरले दुर्भाग्यपूर्ण बताएको छ।
काठमाडौँ पशु उपचार केन्द्र, एनिमल ट्रिटमेन्ट सेन्टर क्लिनिक, मण्डला भिटेरिनरी अस्पताल, स्नेहाज केयर र एसपिसिए नेपालले विभिन्न वडामा अभियान सञ्चालन गर्दै उल्लेखनीय काम गरेका छन्। यी संस्थाहरूले क्रमशः वडा १, ३, ४, ६, १०, ११, १२, १३, १४, १५, १६, २८ र ३२ गरी विभिन्न वडामा समग्र २,०८३ कुकुरको बन्ध्याकरण गर्न सफल भएका छन्।
सामुदायिक कुकुर व्यवस्थापनलाई व्यवस्थित बनाउनका लागि महानगरले छनोट भएका संस्थाहरूसँग २०८२ कार्तिक १३ गते सम्झौता गरी भोलिपल्टबाटै औपचारिक रूपमा अभियान सुरु गरेको थियो।