शुक्लाफाँटा नगरपालिका–९ स्थित सामुदायिक पशुचौपाया व्यवस्थापन केन्द्रले किसानलाई प्राङ्गारिक मल वितरण गर्न थालेपछि माटोको उर्वराशक्ति बढ्नुका साथै कृषिजन्य उत्पादनमा उल्लेखनीय सुधार देखिन थालेको छ । केन्द्रमा रहेका पशुचौपायाबाट उत्पादित मल सहुलियत दरमा उपलब्ध गराइएपछि यो सकारात्मक परिवर्तन आएको हो ।
वडाध्यक्ष रमेशबहादुर ऐरका अनुसार अहिले प्रतिट्याक्टर रु चार हजार ५०० मा प्राङ्गारिक मल वितरण गरिँदैछ । “हामी किसानलाई रासायनिक मलको हानि र प्राङ्गारिक मलका फाइदाबारे निरन्तर सचेतना दिइरहेका छौँ”, उनले भने, “रासायनिक मलले माटोको गुणस्तर घटाउँछ भने प्राङ्गारिक मलले दीर्घकालीन रूपमा उर्वर बनाउँछ ।”
पछिल्लो समय सचेतना अभियानले प्राङ्गारिक मलको माग बढेको छ । अहिले केन्द्रमा १५ देखि २० ट्याक्टर मल मौज्दात छ । पराल दिने किसानलाई निःशुल्क मल वितरणको व्यवस्था गरिएको छ । “एक ट्याक्टर पराल ल्याउनेलाई सोही परिमाणमा निःशुल्क मल दिन्छौँ”, वडाध्यक्ष ऐरले भने, “यसले पशुचौपायाका लागि पराल आपूर्ति सहज बनाएको छ र केन्द्रको खर्च पनि घटेको छ ।” मल बिक्रीबाट प्राप्त रकम नगरपालिकाको सञ्चित कोषमा जम्मा गरी वडाको पूर्वाधार विकासमा खर्च गरिने उनले बताए ।
नगरपालिकाले छाडा पशुचौपायाको व्यवस्थापनका लागि स्थापना गरेको केन्द्रमा हाल करिब चार सयभन्दा बढी चौपाया छन् । चौपायाको चारो, घाँस, औषधोपचार र हेरचाहको खर्च नगरपालिकाले व्यहोरिरहेको छ ।
उत्पादनमा सुधार भएपछि किसानले प्राङ्गारिक मलको फाइदा महसुस गरेका छन् । आलुखेती गर्ने लालबहादुर ऐरले पाँच बिघामा केन्द्रको मल प्रयोग गर्दा माटोको गुणस्तर सुध्रिएको र उत्पादन बढेको बताए । “पहिले रासायनिक मलले बाली राम्रो लाग्थ्यो, तर माटो बिग्रँदै गयो”, किसान भागीराम चौधरीले भने, “प्राङ्गारिक मलपछि माटो जीवित भएको अनुभूति हुन्छ ।”
प्राङ्गारिक मलले माटोको उर्वराशक्ति मात्र नभई मानव स्वास्थ्य र वातावरणमा पनि सकारात्मक प्रभाव पार्ने नगरपालिकाका कृषि शाखा प्रमुख करनसिंह बुढा ऐरले बताए । नगरपालिकाले रासायनिक मल घटाउने र वातावरणमैत्री कृषि प्रणालीलाई प्रोत्साहन दिने दीर्घकालीन योजना बनाएको छ ।