अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी सैन्य कारबाहीको सामना गर्नु भन्दा सम्झौता गर्न चाहेको दाबी गरेका छन्। तर इरानले आफ्नो क्षेप्यास्त्र तथा रक्षा प्रणाली कहिल्यै पनि वार्ताको विषय नबन्ने स्पष्ट पारेको छ। शुक्रबार ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले फारसको खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति बढाइएको सन्दर्भमा “म यति भन्न सक्छु—उनीहरू सम्झौता गर्न चाहन्छन्” भनेका थिए। तर उनले उक्त दाबीबारे थप विवरण भने खुलाएका छैनन्।
यसअघि बुधबार ट्रम्पले इरानलाई परमाणु कार्यक्रमसम्बन्धी सम्झौताका लागि समय सकिँदै गएको चेतावनी दिएका थिए। त्यही समयमा ठूलो अमेरिकी नौसैनिक फौज इरान नजिकै तैनाथ गरिएको थियो। इरानलाई कुनै निश्चित समयसीमा दिइएको हो कि होइन भन्ने प्रश्नमा ट्रम्पले “त्यो उनीहरूलाई मात्र थाहा छ” भन्दै, “सम्झौता भयो भने राम्रो, नभए के हुन्छ हामी हेर्नेछौँ” भन्ने प्रतिक्रिया दिएका छन्। उनले ठूलो अमेरिकी नौसैनिक बेडा (आर्माडा) उक्त क्षेत्रमा पठाइँदै गरेको बताए पनि त्यसको फिर्ती समयबारे केही स्पष्ट पारेका छैनन्।इरानका विदेशमन्त्री अब्बास अराघचीले हाल अमेरिकासँग कुनै औपचारिक वार्ता तय नभएको बताएका छन्। तर आपसी सम्मान र विश्वासमा आधारित संवादका लागि इरान खुला रहेको संकेत उनले दिएका छन्। यद्यपि, इरानको क्षेप्यास्त्र तथा रक्षा प्रणाली कहिल्यै पनि वार्ताको विषय नबन्ने स्पष्ट पार्दै उनले इरानको परमाणु कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण भएको दोहोर्याएका छन्।
यसैबीच, रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका अनुसार इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन्। भेटमा मध्यपूर्व तथा अन्तर्राष्ट्रिय विषयहरूमा छलफल भएको रुसी सरकारी समाचार संस्था ‘रिया नोभोस्ती’ले जनाएको छ।ट्रम्पले इरानलाई सैन्य कारबाहीबाट जोगिन दुई सर्त पूरा गर्नुपर्ने बताएका छन्। ती सर्तहरूमा परमाणु हतियार नबनाउने र देशभित्रका प्रदर्शनकारीहरूको हत्या रोक्ने विषय समावेश छन्। ट्रम्पको यो चेतावनी हालै इरानमा भएको प्रदर्शनमाथिको कडा दमनपछि आएको हो।
अमेरिकास्थित मानव अधिकार कार्यकर्ता समाचार संस्था अनुसार डिसेम्बरको अन्त्यदेखि सुरु भएको आन्दोलनमा हालसम्म ६ हजार ३ सयभन्दा बढी मानिसको मृत्यु पुष्टि भइसकेको छ, जसमध्ये ५ हजार ९ सयभन्दा बढी प्रदर्शनकारी रहेका छन्। इन्टरनेट सेवा बन्द गरिएका कारण थप १७ हजारभन्दा बढी सम्भावित मृत्युसम्बन्धी विवरण अझै अनुसन्धानको क्रममा रहेको संस्थाले जनाएको छ। त्यस्तै, नर्वेमा आधारित इरान मानव अधिकार संस्थाले मृतक संख्या अन्ततः २५ हजार नाघ्न सक्ने चेतावनी दिएको छ।