• Tuesday, March 3, 2026

लोकप्रिय नेता गुरुङ बने नेकपाका उम्मेद्वार


ओखलढुङ्गा जिल्लाको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेभित्रको आन्तरिक विवाद चर्किँदै जाँदा राजनीतिक समीकरण थप जटिल बनेको छ। एमाले ओखलढुङ्गाबाट सिफारिस भएका अमिरबाबु गुरुङ अन्ततः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेद्वार बनेका छन्। एमाले केन्द्रीय नेतृत्वले जिल्लाबाट सिफारिस नै नभएकी अस्मिता थापालाई टिकट दिएपछि असन्तुष्ट बनेका गुरुङले वैकल्पिक राजनीतिक बाटो रोज्दै नेकपाबाट उम्मेद्वारी दर्ता गराएका हुन्।जिल्ला कमिटीले गरेको निर्णयलाई केन्द्रले उल्ट्याएको भन्दै ओखलढुङ्गा एमालेभित्र तीव्र असन्तोष देखिएको छ। सोही असन्तोषको अभिव्यक्तिका रूपमा एमालेका चारवटा भातृ संगठनहरूले ओखलढुङ्गा पार्टी कार्यालयमा ताला लगाएका छन्। राष्ट्रिय युवा संघ, अनेरास्ववियु, अखिल नेपाल महिला संघ तथा नेपाल खेलकुद महासंघले पार्टी केन्द्रको निर्णयप्रति आपत्ति जनाउँदै गत आइतबारदेखि अनिश्चितकालीन ताला बन्दी गरेका हुन्। उनीहरूले जिल्ला कमिटीको सिफारिसलाई बेवास्ता गरी गरिएको निर्णय सच्याउन माग गरेका छन्।

भातृ संगठनहरूको ताला बन्दीसँगै जिल्लाको राजनीतिक गतिविधि थप तनावपूर्ण बनेको छ। संगठनहरूले केन्द्रको निर्णयलाई पार्टीको स्थापित पद्धति र जनवादी केन्द्रीयताको मर्मविपरीत भएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा, स्थानीय तहमा गरिएको छलफल, मूल्यांकन र सिफारिसलाई बेवास्ता गर्नु कार्यकर्ताको भावना र मनोबलमाथिको प्रहार हो। ताला बन्दीमार्फत केन्द्रको ध्यानाकर्षण गराउने प्रयास गरिएको उनीहरूको भनाइ छ।यसैबीच, एमाले ओखलढुङ्गा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्काले आइतबार नै विज्ञप्ति जारी गर्दै पार्टी केन्द्रको निर्णयप्रति कडा असहमति जनाएका छन्। विज्ञप्तिमा जनवादी केन्द्रीयताको नाममा जिल्ला कमिटीले सर्वसम्मत रूपमा गरेको निर्णय उल्ट्याएर सीमित गुटको स्वार्थका लागि टिकट वितरण गरिएको आरोप लगाइएको छ। पार्टी कार्यकर्ताहरूको मनोभावनाविपरीत गरिएको यस्तो निर्णयलाई आफूले सहयोग गर्न नसक्ने स्पष्ट उल्लेख विज्ञप्तिमा गरिएको छ।

जिल्ला अध्यक्ष खड्काको विज्ञप्तिले पार्टीभित्रको असन्तोष झन् सतहमा आएको छ। लामो समयदेखि पार्टी संगठन विस्तारमा लागेका नेताहरू र कार्यकर्ताको योगदानको मूल्यांकन नगरी केन्द्रले एकल निर्णय गरेको भन्दै स्थानीय नेतृत्व आक्रोशित देखिएको छ। यसले आगामी निर्वाचनमा एमालेको संगठनात्मक एकतामाथि नै प्रश्न उठाएको विश्लेषण हुन थालेको छ।एमाले ओखलढुङ्गाका उपाध्यक्ष कमल न्यौपानेले पनि पार्टी केन्द्रको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनका अनुसार केन्द्रको पूर्वाग्रही निर्णयका कारण जिल्ला कमिटीको सिफारिस उल्ट्याएर सिफारिसमा नपरेको व्यक्तिलाई टिकट दिइएको हो। “जिल्ला कमिटीले विधि र प्रक्रिया पूरा गरेर उम्मेद्वार सिफारिस गरेको थियो,” न्यौपानेले भने, “तर केन्द्रले त्यसलाई बेवास्ता गर्दै छलफलमा नामै नआएको व्यक्तिलाई टिकट दिएपछि भातृ संगठनहरू बाध्य भएर ताला बन्दीमा उत्रिएका हुन्।”

न्यौपानेका अनुसार उम्मेद्वार बन्न इच्छा व्यक्त गर्ने १८ जना मध्येबाट व्यापक छलफलपछि पाँच जनाको नाम सिफारिस गरिएको थियो। सिफारिस सूचीमा इश्वर पोखरेल, यज्ञराज सुनुवार, अमिरबाबु गुरुङ, नानीबाबु बढाथोकी र ज्ञानबहादुर खड्का रहेका थिए। तीमध्येबाट एक जनालाई टिकट दिनुपर्नेमा केन्द्रले अस्मिता थापालाई उम्मेद्वार बनाएकोप्रति गम्भीर आपत्ति जनाइएको छ।केन्द्रको निर्णयपछि अमिरबाबु गुरुङ मात्र असन्तुष्ट बनेका होइनन्, जिल्लास्तरका धेरै कार्यकर्ता र नेता पनि निराश बनेका छन्। यही असन्तोषको परिणामस्वरूप गुरुङले एमाले छोडेर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेद्वारी दिएका छन्। गुरुङको उम्मेद्वारीले ओखलढुङ्गाको चुनावी प्रतिस्पर्धा झनै रोचक र पेचिलो बनेको छ।राजनीतिक विश्लेषकहरूका अनुसार एमालेभित्रको यो आन्तरिक विवादले पार्टीलाई निर्वाचनमा कमजोर बनाउन सक्ने सम्भावना छ। असन्तुष्ट समूहको सक्रियता र वैकल्पिक उम्मेद्वारीले मत विभाजन हुने जोखिम देखिएको छ। अर्कोतर्फ, पार्टी केन्द्रले यस विवादलाई समयमै समाधान गर्न नसके संगठनात्मक क्षति अझ बढ्न सक्ने आँकलन गरिएको छ।ओखलढुङ्गामा विकसित यस घटनाक्रमले राष्ट्रिय राजनीतिमा पनि दलभित्रको आन्तरिक लोकतन्त्र, सिफारिस प्रणाली र केन्द्र–जिल्ला सम्बन्धबारे गम्भीर प्रश्न उठाएको छ। अब पार्टी केन्द्रले कस्तो निर्णय लिन्छ र असन्तुष्ट पक्षलाई कसरी सम्बोधन गर्छ भन्ने कुराले आगामी दिनको राजनीतिक दिशा निर्धारण गर्ने देखिन्छ।

Please Login to comment in the post!

you may also like