गोरखा, कार्तिक १४ – गोरखाको मनास्लु पदमार्गमा एक विदेशी पर्यटकमाथि पहिरो खस्दा मृत्यु भएको छ। चुमनुब्री–३ न्याक फेदी नजिक शुक्रबार दिउँसो २ बजे तिर खसेको पहिरोमा चेक गणराज्यकी ५४ वर्षीया क्याटरिना रस्कोभा परेकी हुन्।गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार रस्कोभा आफ्नो श्रीमान् र गाइडसहित पदयात्रामा रहेकी थिइन्। उनका गाइड रमेश भट्टका अनुसार न्याक फेदीभन्दा केही माथि भिरमा हिँडिरहेका बेला माथिबाट ढुंगा र माटोसहितको लेदो खसेको थियो। सोही समयमा रस्कोभा पहिरोमा परेकी हुन्। उनका श्रीमान् र गाइड भने सकुशल छन्।
पर्यटक टोली नेपाल निर्भाना ट्रेल्स नामक काठमाडौंस्थित ट्रेकिङ कम्पनीमार्फत ३० असोजमा मनास्लु पदमार्ग हुँदै लार्के पासतर्फ गएका थिए। तर प्रतिकूल मौसमका कारण १२ कात्तिकमा सामागाउँबाट फर्कने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।डीएसपी श्रेष्ठका अनुसार घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी सिर्दिवासबाट उद्धार टोली खटाइएको हो। तर बाटोमा लगातार पहिरो खसिरहेको र ढुंगामाटो झरिरहेकाले उद्धारमा कठिनाइ भइरहेको छ।उनले भने, “घटनास्थलतर्फ प्रहरीको टोली पुगेको छ, तर घटनास्थलभन्दा करिब २० मिनेटको दूरीमा नै लगातार पहिरो खसिरहेकोले टोली त्यहाँ पुग्न नसकेको अवस्था छ।”
मनास्लु क्षेत्रमा पछिल्ला दिनमा लगातार वर्षाका कारण विभिन्न ठाउँमा स–साना पहिरो खस्ने क्रम जारी रहेको स्थानीयहरूले बताएका छन्।