• Tuesday, March 3, 2026

टिकटकले दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गर्‍यो, नेपालमा २४ लाखभन्दा बढी भिडियो हटाइए


छोटा भिडियोहरूको विश्वप्रसिद्ध प्लेटफर्म टिकटकले सन् २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। यस रिपोर्टमा अप्रिलदेखि जुन महिनासम्मको तीन महिनाको तथ्यांक समेटिएको छ, जसमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्टहरू हटाउन अपनाएका कदमहरूको विवरण दिएको छ। कम्पनीका अनुसार, यस रिपोर्टले विश्वव्यापी प्रयोगकर्तालाई सुरक्षित र सकारात्मक अनलाइन वातावरणको अनुभव गराउने उद्देश्य राखेको छ। नेपालमा टिकटकले यस अवधिमा कुल २४ लाख ७६ हजार ३४५ भिडियोहरू हटाएको छ। यीमध्ये ९९.८ प्रतिशत भिडियोहरू टिकटकले आफैंले सक्रियरूपमा हटाएको हो, र तीमध्ये ९८.४ प्रतिशत भिडियोहरू पोस्ट भएको २४ घण्टाभित्रै मेटाइएका थिए।

विश्वव्यापी रूपमा, टिकटकले यस त्रैमासिकमा १८९ मिलियन (१८९,५७८,२२८) भिडियोहरू हटाएको जनाएको छ, जुन प्लेटफर्ममा अपलोड भएका सबै कन्टेन्टको करिब ०.७ प्रतिशत हो। हटाइएका भिडियोहरूमध्ये १६३,९६२,२४१ भिडियोहरू अटोमेटेड डिटेक्सन प्रणालीमार्फत पत्ता लगाइएका थिए भने ७,४५७,३०९ भिडियोहरू पुनः समीक्षा पछि पुनर्स्थापित गरिएको थियो। टिकटकको विश्वव्यापी सक्रिय हटाउने दर ९९.१ प्रतिशत रहेको छ, र ९४.४ प्रतिशत फ्ल्याग गरिएका कन्टेन्टहरू पोस्ट भएको २४ घण्टाभित्रै हटाइएका थिए। यस अवधिमा कम्पनीले विश्वसनीयता कायम राख्नका लागि ७६,९९१,६६० नक्कली खाताहरू र १३ वर्षभन्दा कम उमेरका शंकास्पद २५,९०४,७०८ खाताहरू पनि हटाएको छ।

रिपोर्ट अनुसार, हटाइएका भिडियोहरूमध्ये सबैभन्दा ठूलो हिस्सा, ३०.६ प्रतिशत, संवेदनशील वा वयस्क विषयवस्तु भएका कन्टेन्टहरू थिए। त्यस्तै १४.० प्रतिशत भिडियोहरूले सुरक्षा र सभ्यतासम्बन्धी मापदण्ड तोडेका थिए भने ६.१ प्रतिशत भिडियोहरूले गोपनीयता र सुरक्षासम्बन्धी नीति उल्लंघन गरेका थिए। साथै, ४५.० प्रतिशत भिडियोहरू गलत सूचनाका रूपमा चिनिएका थिए र २३.८ प्रतिशत भिडियोहरू सम्पादित वा एआई–जेनेरेटेड कन्टेन्टका रूपमा पाइएको रिपोर्टमा उल्लेख छ।

टिकटकले यस किसिमको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट नियमित रूपमा प्रकाशित गरेर पारदर्शिताप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ। कम्पनीका अनुसार, प्रयोगकर्ताहरूले टिकटकको ‘ट्रान्सपरेन्सी सेन्टर’ मार्फत विस्तृत जानकारी, कन्टेन्ट नीति, र प्लेटफर्मले प्रयोग गर्ने सुरक्षासम्बन्धी उपकरणबारे थप जान्न सक्छन्। टिकटकको विश्वव्यापी मुख्यालय लस एन्जलस र सिंगापुरमा रहेको छ भने यसको कार्यालयहरू न्युयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोल र टोकियोमा रहेका छन्।

Please Login to comment in the post!

you may also like