काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित विशिष्ट (भीआईपी) कक्ष लगातार ५० दिनदेखि बन्द छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशनमा विमानस्थल कार्यालयले भीआईपी कक्ष बन्द गरेको हो।विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, “उच्चस्तरीय निर्णयबाट भीआईपी कक्ष बन्द गरिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणबाटै त्यसको निर्देशन आएको हो।”गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि सुरक्षाका कारण भीआईपी कक्ष बन्द गरिएको थियो। त्यसयता सो कक्ष पुनः सञ्चालनमा ल्याइएको छैन। सामान्यतया भीआईपीहरूले आन्तरिक र अन्तर्राष्ट्रिय यात्रा गर्दा विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्ने गर्थे। तर, अहिले सबैजना सामान्य यात्रु सरह लाइनमा उभिएर नै यात्रा गर्न बाध्य छन्।
केही दिनअघि अर्थमन्त्री रामेश्वर खनालले अमेरिका जाँदा र फर्किंदा सामान्य यात्रुहरूकै लाइनमा बसेर यात्रा गरेका थिए। यस्तै, ऊर्जा मन्त्री कुलमान घिसिङ भारत जाँदा पनि सामान्य यात्रु सरह लाइनमा बसेका थिए। यसै साता नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा उपचारका लागि सिंगापुर जाँदा सामान्य यात्रुहरूकै लाइनमा बसेका थिए।प्रवक्ता शेर्पाका अनुसार, “जेनजी प्रदर्शनका समयमा सुरक्षाका कारण भीआईपी कक्ष बन्द गरिएको थियो। हालसम्म कुनै नयाँ निर्णय नआएकाले सो कक्ष अझै पनि बन्द नै छ।”नेपाली सेनाका अनुसार, भदौ २४ गते करिब दुई हजारजति प्रदर्शनकारीहरूले विस्फोटक पदार्थसहित विमानस्थलमा प्रवेश गर्ने प्रयास गरेका थिए। सेनाको युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका थिए। सेनाले ती प्रदर्शनकारीहरूलाई रोक्न सफल भएको पनि उनले बताएका थिए।उक्त घटनापछि विमानस्थल नागरिक उड्डयन कार्यालयले सोही दिन दिउँसो साढे २ बजे विमानस्थल अस्थायी रूपमा बन्द गर्ने सूचना जारी गरेको थियो। भोलिपल्ट भदौ २५ गते बिहान ११:३० बजे अर्को सूचना जारी गर्दै यात्रुहरूलाई विमानस्थलमा नआउन आग्रह गरिएको थियो। त्यसै दिन दिउँसो त्रिभुवन विमानस्थल सुरक्षा समितिको बैठक बसेपछि साढे ३ बजे विमानस्थल पुनः सञ्चालनमा ल्याउने निर्णय गरिएको थियो।तर, त्यसबेलै सुरक्षा कारण देखाउँदै भीआईपी कक्ष अस्थायी रूपमा बन्द राख्ने निर्णय गरिएको थियो। अहिले ५० दिन बितिसक्दा पनि कक्ष पुनः सञ्चालनमा आएको छैन।
नेपाल राजपत्र खण्ड ६४ (साउन ५, २०७१) संख्या १२ को सूचनाअनुसार, त्रिभुवन विमानस्थलको भीआईपी कक्ष प्रयोगका लागि तोकिएका पदाधिकारीहरूलाई सम्बन्धित निकायको सिफारिसमा मात्र प्रवेश अनुमति दिने व्यवस्था गरिएको छ। सो सूचीमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्व राष्ट्राध्यक्ष, विदेशी राष्ट्र प्रमुख, संघीय मन्त्री, मुख्यमन्त्री, सभामुख, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, प्रधानसेनापति, मुख्य सचिव, महानियन्त्रक, र विदेशी राजदूतहरूलाई भीआईपी कक्ष प्रयोग गर्न पाउने व्यवस्था छ।तर, यो सुविधा केवल सरकारी प्रयोजनका भ्रमणमा मात्र लागू हुने व्यवस्था छ। विमानस्थल सञ्चालनसम्बन्धी नियमावलीमा यो व्यवस्था संशोधन गरिएको छैन। स्रोतका अनुसार, भीआईपी कक्ष बन्द गर्ने निर्णय विमानस्थलका महानिर्देशक प्रदीप अधिकारीको एकल निर्णयमा आधारित रहेको बताइन्छ।विमानस्थल प्रवक्ताले भने, “हाल सबैजना सामान्य यात्रु सरह आवत–जावत गरिरहनुभएको छ। भीआईपी कक्ष कहिले खोलिने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय भएको छैन।”