काठमाडौं, ३ असोज २०८२ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान राजनीतिक अवस्थामा लोकतन्त्रवादी, गणतन्त्रवादी र परिवर्तनप्रेमी शक्तिहरूबीच दह्रो एकताको आवश्यकता रहेको बताएका छन्। संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।प्रचण्डले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै भएको उल्लेख गर्दै संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रता जोगाउनु सबै नेपालीको साझा कर्तव्य भएको बताए। उनले हालैको जेनजी आन्दोलनले संविधानको निरन्तरता, विस्तार र परिमार्जनको माग गरेको उल्लेख गर्दै देशव्यापी पुनर्निर्माणमा लाग्न सम्पूर्ण पार्टीपंक्ति र जनसमुदायलाई आह्वान गरेका छन्।यसैबीच, उनले भदौ २३ र २४ गतेका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्। प्रचण्डले जेनजी आन्दोलनलाई लोकतन्त्रविरोधी नभई यथास्थितिवाद र तदर्थवादी शासन प्रणालीको विरोधी तथा उन्नत लोकतन्त्रको पक्षधर भएको बताए। यद्यपि, उनले भदौ २३ र २४ का आन्दोलनलाई एकै कोणबाट हेर्न नमिल्ने उल्लेख गर्दै भदौ २३ को आन्दोलन वास्तविक जेनजी आन्दोलन भएको दाबी गरे।
संविधानको रक्षा र लोकतान्त्रिक मूल्यहरूलाई सुदृढ गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन्।