काठमाडौँ – कालीगण्डकी नदी आसपासका उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। नेपाल पन्छीविद् सङ्घले गरेको पछिल्लो अध्ययनअनुसार, १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको जोडी सङ्ख्या बढेको पाइएको हो।सङ्घले मुस्ताङको थासाङ गाउँपालिकाअन्तर्गत घाँसा, लेते, कुञ्जो, टिटीताल, खन्ती र झिप्रा देउराली गरी सात ठाउँमा हालै अध्ययन गरेको थियो। अध्ययन टोलीका अनुसन्धानकर्ता विराट रजकका अनुसार, सन् २००९ मा यी क्षेत्रमा जम्मा ६ जोडी चिरकालिज भेटिएका थिए भने यसपालि १८ जोडी फेला परेका छन्।
“सन् २००४ मा १७ जोडी र सन् २००६ मा ११ जोडी कालिज भेटिएका थिए,” रजकले भने, “सन् २००९ पछि अध्ययन भएको थिएन। सोह्र वर्षपछि भएको यस अध्ययनले कालीगण्डकीको माथिल्लो क्षेत्रमा चिरकालिजको सङ्ख्या बढेको पुष्टि गरेको छ।”
संरक्षण प्रयासको फल
चिरकालिजको सङ्ख्या वृद्धिमा समुदायस्तरीय संरक्षण शिक्षा, चेतना अभिवृद्धि, चोरीसिकारी नियन्त्रण तथा बासस्थान वरपर मानवीय र घरपालुवा जनावरको गतिविधिले सहयोग पुगेको अनुसन्धानकर्ताहरू बताउँछन्। खरबारी र पाखोबारीमा घाँस काट्ने, पशुचौपाया चराउने क्रममा झाडी हट्दा चराको आहारा खोज्न सजिलो हुने र बसोबास अनुकूल बनेको रजकको भनाइ छ।
फुल कोरल्ने बाहेकका समयमा लाग्ने डढेलोले झाडी नष्ट भई प्रशस्त आहारा उपलब्ध हुँदा पनि चिरकालिजलाई फाइदा पुगेको पाइएको छ। चैत, वैशाख र जेठ महिना यसको प्रजनन सिजन हो।
विशेषता र बासस्थान
समुद्री सतहबाट १,४०० देखि ३,६०० मिटर उचाइसम्म पाइने चिरकालिज सामान्य कालिजजस्तै तल्लो तटीय क्षेत्रमा बस्दैन। यसको वैज्ञानिक नाम क्याट्रस वालिची हो। अङ्ग्रेजीमा ‘चिर फेजेन्ट’ र सुदूरपश्चिममा ‘चेडु चरा’ भनिने यो पन्छी भिरपहरामा बास बनाउँछ र एकपटकमा ७ देखि १५ वटा फुल पार्छ।“भालेको पुच्छर लामो, आँखा रातो, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ। पोथी सानो आकारको र छोटो पुच्छरकी हुन्छिन्,” अनुसन्धानकर्ता केशव चोखालले भने, “बिहान सूर्योदयअघि र साँझ सूर्यास्तपछि मात्र चिरचिर गरेर कराउने भएकाले यसको नाम चिरकालिज रहन गएको हो।”
थप अध्ययन र संरक्षण योजना
मुस्ताङको अध्ययन प्रतिवेदन तयार भएको टोली अहिले म्याग्दीको धवलागिरि गाउँपालिका र ढोरपाटन सिकार आरक्षमा छ। म्याग्दी नदी आसपास र आरक्ष क्षेत्रको अध्ययनपछि प्राप्त तथ्याङ्कका आधारमा चिरकालिज संरक्षण कार्यक्रम सञ्चालन गरिने जैविक विविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले बताए।
“दुर्लभ पन्छी अवलोकनका लागि विदेशी पर्यटक आकर्षित हुँदा स्थानीय रोजगारी र आयआर्जनमा टेवा पुग्नेछ,” राईले थपे।चिरकालिज नेपालमा मुख्यतः अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष, रारा राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रबाहिर पर्वत, म्याग्दी, बागलुङ, कर्णाली र सुदूरपश्चिममा पाइन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले यसलाई लोपोन्मुख प्रजातिमा सूचीकृत गरेको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णु अधिकारीले जनाए।कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदी तटीय क्षेत्रमा देखिएकाले अनुसन्धान थालिएको हो। अध्ययनलाई दातृ संस्था टोलेडोजुले सहयोग गरेको नेपाल पन्छीविद् सङ्घले जनाएको छ।