• Tuesday, March 3, 2026

पार्टीको समग्र पुनर्निर्माणका लागि विशेष निर्णय लिन विशेष महाधिवेशन


नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ। काठमाडौँको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशनको औपचारिक उद्घाटन हुने कार्यक्रम तय गरिएको छ। उद्घाटनअघिको कार्यक्रमअनुसार बिहान ११ बजेदेखि काठमाडौँका सुन्धारा, रत्नपार्क, शंकरदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत विभिन्न स्थानमा कांग्रेसका नेता–कार्यकर्ता भेला भई र्‍यालीसहित भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछन्। विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिका संयोजक जगदीश्वरनरसिंह केसीका अनुसार र्‍यालीमार्फत महाधिवेशनलाई उत्सवमय र जनसहभागितामूलक बनाउने तयारी गरिएको छ।

उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा करिब ५० जना अतिथि अटाउनेगरी विशेष मञ्च निर्माण गरिएको छ। मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीका अनुसार मञ्चअगाडि खुला चौरमा छ हजारभन्दा बढी सहभागी अट्नेगरी कुर्सीहरूको व्यवस्था गरिएको छ। मञ्च र आसपासको क्षेत्र कांग्रेसका झण्डा, स्वागत गेट, ब्यानर तथा प्रचार–प्रसार सामग्रीले सजाइएको छ। महाधिवेशनको सभापतित्व नेपाली कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको छ। विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई भने आमन्त्रण नगरिएको आयोजक समितिले जनाएको छ।

आयोजक समितिका अनुसार मुलुकभरबाट विशेष महाधिवेशनमा सहभागी हुन आउने महाधिवेशन प्रतिनिधिहरूको आगमन लगभग पूरा भइसकेको छ। प्रतिनिधिहरूको सहज सहभागिताका लागि आयोजनास्थलमै खाना तथा नास्ताको व्यवस्था गरिएको छ। आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका विभिन्न स्थानमा करिब तीन हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्था गरिएको छ। त्यसका अतिरिक्त आकस्मिक अवस्थालाई ध्यानमा राख्दै थप दुई–दुई सय प्रतिनिधि अट्नेगरी वैकल्पिक प्रबन्ध पनि मिलाइएको छ।

विशेष महाधिवेशनको उद्घाटन सत्रपछि बन्दसत्र यही पुस २८ गते बिहानदेखि भृकुटीमण्डपस्थित सभाहलमा सुरु हुनेछ। बन्दसत्रमा पार्टीको भावी दिशा, नीतिगत प्राथमिकता र संगठनात्मक सुधारका विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ। यद्यपि बन्दसत्रमा प्रस्तुत हुने नीतिगत दस्तावेज र प्रस्तावका अधिकांश विषयवस्तु हालसम्म सार्वजनिक भइसकेका छैनन्, जसले महाधिवेशनप्रति थप चासो बढाएको छ।

महामन्त्रीद्वय थापा र शर्माले कांग्रेस विधानको धारा १७(२) अनुसार विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र महाधिवेशन आह्वान गर्नैपर्ने कानुनी बाध्यता रहेको उल्लेख गर्दै विधानको पालना गर्न र पार्टीलाई थप जीवन्त बनाउने उद्देश्यले विशेष महाधिवेशन आह्वान गरिएको स्पष्ट पारेका छन्। उनीहरूले संयुक्त विज्ञप्तिमार्फत सबै महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।

महामन्त्रीद्वयका अनुसार बदलिँदो राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई सुदृढ बनाउने, जनभावनाअनुरूप नीति निर्माण गर्ने र नयाँ ऊर्जा तथा दृष्टिकोणसहितको नेतृत्वमार्फत पार्टीको समग्र पुनर्निर्माणका लागि विशेष निर्णय लिनु अपरिहार्य भइसकेको छ। यही विशेष कारणसहित महाधिवेशन प्रतिनिधिहरूले निवेदन दर्ता गरेकाले विशेष महाधिवेशन सम्पन्न गर्नु केन्द्रीय नेतृत्वको जिम्मेवारी भएको उनीहरूको भनाइ छ। साथै, जस्तोसुकै कठिन परिस्थितिमा पनि पार्टीलाई एकताबद्ध राख्न आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै महामन्त्रीद्वय थापा र शर्माले यो विशेष महाधिवेशन कांग्रेसका लागि नयाँ मोड सावित हुने विश्वास व्यक्त गरेका छन्।

Please Login to comment in the post!

you may also like