काठमाडौ। वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाइँमा समस्या भएको र रोपिएका खेतमा पनि धाँजा फाट्न थालेपछि प्रदेश सरकारले मधेस प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार मधेस प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो। बैठकले सुक्खाग्रस्त मधेस प्रदेशका किसानका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह गर्ने निर्णयसमेत गरेको छ। यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकार आह्वान गरिएको छ।
यसैगरी मन्त्रिपरिषद् बैठकले पर्साको वीरगञ्जसहित मधेस प्रदेशका विभिन्न जिल्लामा देखिएको खानेपानी संकट समाधानका लागि आवश्यक स्रोतसाधन परिचालन गर्ने निर्णय गरेको छ। खानेपानी संकट समाधानमा आवश्यक सहयोग गर्न सङ्घीय खानेपानी मन्त्रालयलाई आग्रह गर्दै ट्यांकरसहितका विभिन्न माध्यमबाट पानीको आपूर्ति मिलाउने निर्णयसमेत गरेको छ।–रासस