काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता समझदारी अन्ततः भाँडिएको छ। कुलमान घिसिङका महत्वाकाङ्क्षी मागका कारण सहमति कायम हुन नसकेको रास्वपाका उच्च स्रोतले जनाएको छ।
रास्वपा उच्च स्रोतका अनुसार उज्यालो नेपाल पार्टीसँग अधिकतम लचकता अपनाइए पनि उनीहरूका माग पार्टीले धान्न नसक्ने खालका भएका कारण एकताको समझदारी तोडिन पुगेको हो। स्रोतले भन्यो, “हामीले सम्भव भएसम्म लचकता देखायौँ तर पार्टी संरचना र निर्वाचन प्रक्रियासँग जोडिएका मागहरू पूरा गर्न नसकिने भएपछि सहमति अघि बढाउन सकिएन।”
पुस १४ गते राति रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायबीच एकताको समझदारी भएको थियो। उक्त समझदारीमा तत्कालीन भौतिक पूर्वाधार मन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ साक्षीका रूपमा उपस्थित रहेका थिए।
यसैबीच रास्वपाका नेता तथा पूर्वसांसद् गणेश पराजुलीले पनि राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङबीचको सहकार्य टुटेको पुष्टि गरेका छन्। उनले भने, “अधिकतम लचकताका बाबजुद पनि उज्यालो नेपाल पार्टीसँगको सहकार्य हालका लागि स्थगित गरिएको छ।”
उज्यालो नेपाल पार्टीसँगको एकता टुटेपछि सभापति रवि लामिछानेको निर्देशनमा पार्टी सचिवालयको आकस्मिक भर्चुअल बैठक बोलाइएको छ। बैठक सुरु भइसकेको र पार्टीको आगामी रणनीतिबारे छलफल भइरहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
एकता भाँडिएसँगै दुवै पार्टीको भावी राजनीतिक यात्राबारे विभिन्न अड्कलबाजी सुरु भएको छ।