धनुषा जिल्लामा जग्गा अतिक्रमणको विषयलाई लिएर भएको झडपमा ८ जना घाइते भएका छन्।
मिथिला नगरपालिका–२ अन्तर्गत सुकजोरस्थित सन्त रामपाल आश्रम अगाडि रहेको जग्गाको विषयमा विवाद चर्किँदा झडप भएको हो। झडपमा घाइते हुनेहरू सबै स्थानीय बासिन्दा रहेको प्रहरीले जनाएको छ।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले १६ सेल अश्रुग्यास प्रहार गरी भीड तितरबितर पारेको छ। झडपपछि आक्रोशित स्थानीयहरूले जनकपुर–ढल्के सडक खण्ड अवरुद्ध गरेका थिए, जसका कारण केही समय यातायात प्रभावित भएको थियो।
प्रहरीका अनुसार हाल अवस्था नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।