वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिना भेनेजुएलाका तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न अमेरिकाले ‘डिस्कम्बोबुलेटर’ नामक गोप्य हतियार प्रयोग गरेको दाबी गरेका छन्। तर अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले ट्रम्पले अस्तित्वमै नभएको हतियारलाई विभिन्न सैन्य प्रविधिसँग गड्डमड्ड गरेको हुनसक्ने बताएका छन्।न्युयोर्क पोस्टलाई दिएको अन्तर्वार्तामा ट्रम्पले उक्त हतियारबारे “म यसबारे बोल्न पाउँदिन” भन्दै त्यसले शत्रु पक्षको उपकरण काम नगर्ने बनाएको दाबी गरे। तर सिएनएन सँग कुरा गर्दै एक वरिष्ठ अधिकारीले अमेरिकी सेनाले वास्तवमा साइबर उपकरण प्रयोग गरी भेनेजुएलाको प्रारम्भिक चेतावनी प्रणाली र अन्य रक्षा संरचना निष्क्रिय पारेको बताएका छन्।अधिकारीका अनुसार जमिनमा रहेका सुरक्षाकर्मीहरूलाई दिशाभ्रमित गर्न ध्वनि प्रणाली पनि प्रयोग गरिएको थियो। साथै, अमेरिकी सेनासँग लामो समयदेखि रहेको ‘एक्टिभ डिनायल सिस्टम’ नामक तातो किरण (हिट रे) हतियार प्रयोग भएको हो कि होइन भन्ने अझै स्पष्ट छैन।
सिएनएन का अनुसार एक्टिभ डिनायल सिस्टम एक गैर–घातक हतियार हो, जसले अदृश्य विद्युतचुम्बकीय तरंग प्रक्षेपण गरी छालामा तीव्र तापको अनुभूति गराउँछ र मानिसलाई उक्त स्थानबाट हट्न बाध्य बनाउँछ।मादुरो पक्राउ परेपछि, ह्वाइट हाउसकी प्रेस सेक्रेटरी करोलिन लेभिटले एक भेनेजुएलाली सुरक्षाकर्मीको भनाइ सामाजिक सञ्जालमा पुनःपोस्ट गरेकी थिइन्। उक्त सुरक्षाकर्मीले अमेरिकी सेनाले “अत्यन्तै शक्तिशाली ध्वनि तरंगजस्तो केही” प्रक्षेपण गरेको र त्यसपछि टाउको फुटेजस्तो भएको, नाकबाट रगत बगेको तथा केहीले रगत बान्ता गरेको दाबी गरेका थिए। तर यो विवरण सिएनएन ले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।सिएनएन को विश्लेषणअनुसार जनवरी ३ मा भएको उक्त सैन्य कारबाही भेनेजुएलाभर रहेका राडार, सञ्चार र हवाई प्रतिरक्षा प्रणालीमाथि आक्रमणबाट सुरु भएको थियो। यसले अमेरिकी हेलिकप्टरहरूलाई सुरक्षित रूपमा प्रवेश गर्ने बाटो खोलेको थियो।
अमेरिकी संयुक्त प्रमुख सेनापतिका अध्यक्ष एयर फोर्स जनरल ड्यान केनका अनुसार स्थल र समुद्रमा रहेका २० वटा आधारबाट १५० भन्दा बढी विमान — बमवर्षक, लडाकु, गुप्तचर तथा निगरानी विमान — परिचालन गरिएको थियो।विशेषज्ञहरूका अनुसार भेनेजुएलाको तटीय सहर हिगुएरोतेमा रहेका हवाई प्रतिरक्षा प्रणालीमाथि एकतर्फी आक्रमण ड्रोन पनि प्रयोग गरिएको हुनसक्छ। फोर्ट तिउनाभित्र अमेरिकी फौज अवतरण गर्दा खिचिएका भिडियोमा लगातार गोलीबारी देखिन्छ, जुन ३० मिलिमिटर अटोकेनन प्रयोग गर्ने अमेरिकी MH-60 ब्ल्याक हक हेलिकप्टरसँग मेल खाने सैन्य विज्ञहरूले बताएका छन्।तर मादुरोलाई फोर्ट तिउनाको कुन स्थानमा र कसरी पक्राउ गरियो भन्ने विस्तृत विवरण अझै सार्वजनिक गरिएको छैन।