चार दशकअघि, फोटोग्राफर न्यान गोल्डिनले प्रेम, चाहना र वियोगका १२६ तस्बिरहरू समेटेर तयार पारेको फोटो–पुस्तक “द बैलाड अफ सेक्सुअल डिपेन्डेन्सी” विश्वकै सबैभन्दा प्रभावशाली फोटोग्राफी कृतिहरूमध्ये एक बन्यो।सन् १९८६ मा Aperture प्रकाशनबाट प्रकाशित उक्त पुस्तकले न्युयोर्कको इस्ट भिलेजका अँध्यारा नाइटक्लब, उज्याला शयनकक्ष र रातका कार यात्राहरू हुँदै शिकागो, लन्डन, बर्लिन र मेक्सिको सिटीसम्म फैलिएको गोल्डिन र उनका साथीहरूको जीवन पछ्याउँछ। ती तस्बिरहरू यति आत्मीय छन् कि दर्शक स्वयं ती दृश्यभित्र पुगेको अनुभूति हुन्छ — जहाँ अपनत्व, चाहना र हृदयविदारक क्षणहरू एकसाथ देखिन्छन्।यो समूह मुख्यतः क्वियर समुदायसँग सम्बन्धित थियो र एड्स महामारीबाट गहिरो रूपमा प्रभावित पनि। तर गोल्डिनले आफ्नो कामलाई ‘सीमान्तकृत समुदाय’ को कथा भनेर बुझिनु गलत भएको बताउँदै आएकी छन्।
“हामी कहिल्यै सीमान्तकृत थिएनौँ, किनकि हामी नै संसार थियौँ,” उनले सन् २०१३ मा लस एन्जलसस्थित म्युजियम अफ कन्टेम्पोररी आर्टमा भनेकी थिइन्। “हामीलाई स्ट्रेट मानिसहरूले के सोच्छन् भन्ने मतलब नै थिएन। उनीहरू हाम्रो दृष्टिमा नै थिएनन्, त्यसैले हामी कुनै पनि कुराबाट बहिष्कृत थिएनौँ।”यसै महिना लन्डनमा रहेको गागोसियन ग्यालरीले उक्त पुस्तकमा समावेश सबै १२६ तस्बिरहरू प्रदर्शनीमा राखेको छ। यो बेलायतमा ‘द बैलाड अफ सेक्सुअल डिपेन्डेन्सी’ को पहिलो पूर्ण प्रदर्शनी हो। यद्यपि ‘बैलाड’ पुस्तकमा मात्र सीमित छैन — समयसँगै यसमा सयौँ तस्बिरहरू थपिँदै आएका छन् र यसलाई विभिन्न स्वरूपमा प्रस्तुत गरिएको छ।पुस्तक बन्नुअघि ‘बैलाड’ अनुभव गर्नु क्षणिक र दुर्लभ हुन्थ्यो। गोल्डिनले यसलाई सुरुमा द भेल्भेट अन्डरग्राउन्ड र डायोन वारविकका गीतसँग मिलाएर न्युयोर्कका नाइटक्लबहरूमा स्लाइड–शोको रूपमा प्रस्तुत गरेकी थिइन्। सन् १९८५ को ह्विट्नी बिएनालेमा पनि यो प्रदर्शन गरिएको थियो।
त्यस संस्करणमा तस्बिरहरू छिटोछिटो बदलिन्छन् — समुद्र किनारमा साथीहरू, एउटै ओछ्यानमा पल्टिएका शरीरहरू, चम्किला वा उदास नजरहरू, हावामा तैरिरहेको चुरोटको धुवाँ। गोल्डिनकी घनिष्ठ साथी कुकी प्रेममा पर्छिन्, विवाह गर्छिन्, अनि अन्ततः उनी र उनका पति दुबैको मृत्यु हुन्छ।प्रिन्सटन विश्वविद्यालय कला संग्रहालयकी फोटोग्राफी क्युरेटर क्याथरिन ए. बुसार्डका अनुसार ‘बैलाड’ फोटोग्राफी र समय–आधारित कला दुवैको सीमामा उभिएको कृति हो। “यो स्लाइड–शो सुरुमा प्रत्यक्ष प्रस्तुति थियो,” उनले भनिन्। “कलाकार आफैँ त्यहाँ उभिएर स्लाइड हाल्थिन्, संगीत मिलाउँथिन्। त्यसलाई देखेकाहरू आज पनि त्यस अनुभवलाई ‘जिउँदो’ भनेर सम्झन्छन्।”
पुस्तकको रूपमा ‘बैलाड’ले अलग प्रकारको आत्मीयता दिन्छ। यसको विषयसूची गीतका शीर्षकजस्तै बनाइएको छ, ताकि चाहनेले संगीतसँगै पढ्न सकून्। आजकल यससँग मेल खाने अनौपचारिक स्पोटिफाइ प्लेलिस्टहरू पनि बनेका छन्।बुसार्डका अनुसार सन् १९७० र ८० को दशकमा आफ्नै जीवन अनुभवबाट ‘गम्भीर कला’ बन्न सक्छ भन्ने धारणा नयाँ थियो। त्यसमाथि रंगीन फोटोग्राफीलाई पनि गम्भीर कलाको रूपमा स्वीकार्न हिच्किचाहट थियो। ‘स्न्यापसट’ शैलीमा खिचिएका ‘बैलाड’का तस्बिरहरूले यी दुवै मान्यतालाई तोडे।“यी तस्बिरहरूले हामीले आफैँ वा हाम्रो परिवारले खिचेका स्मृतिका फोटोहरू सम्झाइदिन्छन्,” बुसार्ड भन्छिन्। “तर मानिसहरूले पारिवारिक एल्बममा वियोग, पीडा वा मृत्युका क्षणहरू सुरक्षित गर्दैनन्। ‘बैलाड’ ले स्न्यापसटलाई समात्छ, तर त्यसलाई अझ फराकिलो र गहिरो बनाउँछ।”
गोल्डिनले स्मृतिको शक्तिबारे लेख्दै स्मृतिलाई “रंग, गन्ध, आवाज र शारीरिक उपस्थितिको आह्वान — जीवनको घनत्व र स्वाद” भनेकी छन्।बुसार्ड यही उद्धरणलाई बारम्बार सम्झिन्छिन्। “हामी कुनै कुरा सम्झँदा त्यसलाई कालो–सेतो बनाउँदैनौँ,” उनी भन्छिन्। “हामी स्मृतिलाई रंगसहित र प्रायः आवाजसहित सम्झन्छौँ।”