काठमाडौँ — नेकपा (एमाले) र नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच पश्चिम नेपालका विभिन्न निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्ने सहमति भएसँगै मुलुकको कम्युनिस्ट राजनीतिमा नयाँ तरंग देखिएको छ। विशेषगरी यस सहमतिले पूर्व माओवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मा अन्ततः केपी शर्मा ओलीको राजनीतिक लाइनतर्फ खुलेर आएको पुष्टि भएको भन्दै राजनीतिक वृत्तमा चर्चा चुलिएको छ।
एमाले उपाध्यक्ष रामबहादुर थापा र प्रलोपाकी अध्यक्ष दुर्गा सोवले हस्ताक्षर गरेको तीन बुँदे सहमति अनुसार रुकुम पश्चिम र रुकुम पूर्वमा एमालेले प्रलोपाका उम्मेदवारलाई समर्थन गर्नेछ। रुकुम पश्चिमबाट प्रलोपाका तर्फबाट जनार्दन शर्मा उम्मेदवार बनेका छन् भने रुकुम पूर्वमा सन्दीप पुनले एमालेको साथ पाउनेछन्।रुकुम पश्चिम जनार्दन शर्माको पुरानो बलियो क्षेत्र हो। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका शर्माले ३९ हजार ५४९ मत ल्याउँदै एमालेका नन्दराम सापकोटालाई तेब्बरभन्दा बढी मतान्तरले पराजित गरेका थिए। तर त्यो जित माओवादी केन्द्र एक्लैको बलमा सम्भव भएको थिएन। त्यतिबेला नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) लगायत दलको सहयोग पनि शर्मालाई प्राप्त थियो।
तर त्यसयता राजनीतिक परिस्थितिमा ठूलो परिवर्तन आएको छ। शर्मा माओवादी केन्द्रबाट अलग भइसकेका छन् र प्रलोपा गठन गरेर नयाँ राजनीतिक यात्रा थालेका छन्। यही सन्दर्भमा एमालेसँगको औपचारिक तालमेलले उनलाई पहिले नै लागेको “ओलीसँग नजिकिएको” आरोप अब पुष्टि भएको विश्लेषकहरू बताउँछन्।एक पूर्व माओवादी नेता नाम उल्लेख नगर्ने सर्तमा बिजनेस प्रेससँग भन्छन्, “जनार्दन शर्मा केही समयदेखि नै ओलीतिर ढल्किएको भन्ने कुरा पार्टीभित्र चलिरहेको थियो। एमालेसँगको यो सहमतिले अब त्यसलाई सार्वजनिक रूपमा प्रमाणित गरिदिएको छ।”सहमति अनुसार रुकुम पश्चिममा समानुपातिकतर्फ करिब आठ हजार ७६९ मत पाएको एमालेको समर्थन अब शर्मालाई प्राप्त हुनेछ। यसले उनको जितको सम्भावना बलियो बनाउने देखिन्छ। त्यस्तै, रुकुम पूर्वमा एमालेको करिब तीन हजार ६५९ समानुपातिक मत सन्दीप पुनका लागि निर्णायक हुनसक्ने आँकलन गरिएको छ।
तर यो तालमेलले प्रलोपाभन्दा पनि एमालेका लागि दीर्घकालीन रूपमा बढी फाइदा पुर्याउने देखिन्छ। सहमति अनुसार कर्णाली प्रदेशका हुम्ला र जुम्ला बाहेकका जिल्ला तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा प्रलोपाले एमाले उम्मेदवारलाई समर्थन गर्नेछ।गत निर्वाचनको परिणाम हेर्दा, ती क्षेत्रहरू मध्ये प्युठान बाहेक सबै ठाउँमा एमाले दोस्रो स्थानमा सीमित भएको थियो। दैलेख–२, दाङ–२ र दैलेख–१ जस्ता क्षेत्रमा एमाले झिनो मतान्तरले पराजित भएको थियो। उदाहरणका लागि दैलेख–२ मा कांग्रेसका दिक्पालबहादुर शाहीले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई जम्मा १६७ मतले हराएका थिए। दाङ–२ मा माओवादी केन्द्रकी रेखा शर्माले एमाले महासचिव शंकर पोखरेललाई १९३ मतले पराजित गरेकी थिइन्।यस्ता क्षेत्रमा प्रलोपाको संगठित मत एमालेतर्फ मोडिन सके परिणाम उल्टिन सक्ने सम्भावना देखिन्छ। यद्यपि प्रलोपाको ठोस मत आधार कति छ भन्ने स्पष्ट तथ्यांक छैन। तर जनार्दन शर्मा जस्ता प्रभावशाली नेता प्रलोपामा रहेकाले स्थानीय तहमा त्यसको प्रभाव नदेखिने भन्न सकिँदैन।
विशेषगरी दाङ–२ र दैलेख–१ जस्ता क्षेत्रमा यसअघि नेपाली कांग्रेसको समर्थन पाउँदा पनि झिनो मतले जितेका माओवादी र एकीकृत समाजवादीका उम्मेदवारहरू अब दुई दलबीचको तालमेलका कारण दबाबमा पर्ने देखिन्छन्।राजनीतिक विश्लेषकहरूका अनुसार यो तालमेल केवल निर्वाचन गणित मात्र होइन, कम्युनिस्ट राजनीतिभित्रको पुनर्संरेखण को संकेत पनि हो। माओवादीबाट अलगिएका नेताहरू ओली नेतृत्वको एमालेसँग नजिकिँदै जानु भविष्यमा ठूलो कम्युनिस्ट ध्रुवीकरणको आधार बन्न सक्ने उनीहरूको विश्लेषण छ।यस अर्थमा, एमाले–प्रलोपाको सहमति केवल दुई दलको तालमेल नभएर जनार्दन शर्मा जस्ता नेताहरूको राजनीतिक गन्तव्य स्पष्ट पार्ने घटनाका रूपमा पनि हेरिएको छ। पश्चिम नेपालको चुनावी राजनीतिमा यसको प्रभाव कति पर्छ भन्ने कुरा भने आगामी निर्वाचनले मात्र देखाउनेछ।