• Tuesday, March 3, 2026

पूर्वप्रधानमन्त्री खनालको खुलासा: जेन–जी प्रदर्शनकारीले म, पत्नी र छोरालाई जिउँदै जलाउन खोजे, सेनाले बचायो


काठमाडौं, २६ कात्तिक – नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जेन–जी आन्दोलनको क्रममा आफू, पत्नी र छोरालाई प्रदर्शनकारीहरूले जिउँदै जलाउने प्रयास गरेको खुलासा गरेका छन्। प्राइम टाइम्स टेलिभिजनको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले नेपाली सेनाको हस्तक्षेपले आफूहरूको ज्यान बचेको बताए।

गत भदौ २४ गतेको जेन–जी प्रदर्शनको स्मरण गर्दै खनालले भने, “सेना नआएको भए म, मेरी श्रीमती र छोरालाई त्यहीँ जिउँदै जलाउँथे। ती प्रदर्शनकारी देशका शत्रु हुन्। उनीहरू नेपाली अनुहारका भए पनि व्यवहार दानवी थियो।”

उनले प्रदर्शनकारीहरूले घर जलाउने, लुटपाट गर्ने र आक्रमण गर्ने क्रमका भिडियो प्रमाणहरू संकलन गरेको र आवश्यक परे राज्यलाई उपलब्ध गराउने बताए। “भिडियोमा कसले ढोका फोड्यो, कसले ढुङ्गा हान्यो, कसले हतियार बोकेर आयो, सबै फोटोसहित संकलित छ,” उनले भने।

आन्दोलनमा घाइते भएकी उनकी पत्नी रविलक्ष्मी चित्रकार हाल भारतको एपोलो अस्पतालमा उपचाररत छन्। खनालका अनुसार उनको देब्रे हात चौथो डिग्रीसम्म जलेकाले काट्नुपरेको थियो, जबकि दायाँ हात पहिलो डिग्री जलनमा छ र निको हुने अवस्थामा छ। “रविलक्ष्मी बोल्न सक्ने भइसकेकी छिन् र स्वास्थ्यमा सुधार भइरहेको छ। डाक्टरको सल्लाहअनुसार उनलाई अझै एक महिना उपचार चाहिन्छ,” खनालले भने।

“जलनको पहिलोदेखि चौथो डिग्रीसम्म हुन्छ। देब्रे हात चौथो डिग्रीसम्म जलेकाले काट्नु बाध्यता भयो, तर दायाँ हात ठीक हुँदैछ,” उनले थपे।

Please Login to comment in the post!

you may also like