• Saturday, June 21, 2025

नाटक ‘हत्या’: रंगमञ्चमा अपराधको बौद्धिक विवेचना


काठमाडौं। अपराधको परिभाषा, मनोविज्ञान र समाजबीचको जटिल सम्बन्धलाई केन्द्रमा राखेर तयार पारिएको नयाँ नाटक ‘हत्या’ मण्डला थिएटरमा मञ्चन सुरु भएको छ।

ब्रिटिश लेखक प्याट्रिक ह्यामिल्टनको प्रसिद्ध मनोवैज्ञानिक थ्रिलर ‘Rope’ मा आधारित यो नाटक सुदीप तिमिल्सिनाको निर्देशन र विशाल कुमार केसीको सह-निर्देशनमा तयार पारिएको हो। अनुवाद र नेपाली सन्दर्भमा पुनःनिर्माण गरिएको नाटकले अपराधको अवधारणालाई परम्परागत दृष्टिकोणभन्दा फरक तरिकाले प्रस्तुत गर्ने प्रयास गरेको छ।

नाटक ‘हत्या’ प्रत्येक दिन साँझ ४ बजे मञ्चन हुनेछ भने शनिबार दिउँसो १२ बजे र साँझ ४ बजे गरी दुईवटा शो हुनेछ। सोमबार भने नाटक मञ्चन हुनेछैन। नाटक असार १५ गतेसम्म निरन्तर चल्नेछ।

निर्देशक तिमिल्सिनाका अनुसार नाटक केवल एक अपराध घटनाको प्रस्तुति नभई, त्यो अपराध जन्मिनेमुख पछाडिका मनोवैज्ञानिक र सामाजिक कारणहरूको विश्लेषण हो। उनले भने, “नाटकले दर्शकलाई अपराधको मूल कारणबारे सोच्न बाध्य पार्नेछ, जसले विचारको बहस निम्त्याउनेछ।”

नाटकमा मिस ग्रान्ड इन्टरनेशनल प्रतियोगितामा सहभागी भएका कलाकारदेखि विभिन्न पृष्ठभूमिका कलाकारहरू समावेश छन्। अधिकांश कलाकारहरू रंगमञ्चमा नयाँ भए पनि अभिनयप्रति उनीहरूको लगाव र प्रस्तुतिमा देखिने प्रयास प्रशंसनीय रहेको छ।

सामाजिक यथार्थमा आधारित निर्देशन गर्दै आएका तिमिल्सिनाका लागि ‘हत्या’ नयाँ शैलीमा गरिएको प्रयोग हो। नाटकमा अपराधलाई केवल कानुनी विषय होइन, सामाजिक संरचना र मानसिक अवस्थाको उपजका रूपमा चित्रण गरिएको छ।

मनोवैज्ञानिक थ्रिलर विधामा नेपाली रंगमञ्चमा कम प्रयोग हुँदै आएको शैलीमा तयार पारिएको यो नाटकले विचार र विमर्श दुवैको सुरुवात गर्ने अपेक्षा गरिएको छ।

Please Login to comment in the post!

you may also like