नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तथाकथित ‘फेक रेस्क्यू’ प्रकरणमा संलग्न विभिन्न ट्राभल तथा रेस्क्यू सेवा कम्पनीका सञ्चालकहरूलाई पक्राउ गरेको छ। पर्यटक उद्धारको नाममा नक्कली कारोबार गरी बीमा कम्पनीबाट करोडौँ डलर ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
सीआईबी प्रमुख तथा अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीका अनुसार अदालतबाट पक्राउ अनुमति लिएर आजै ६ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा जयराम रिमाल, विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसी रहेका छन्। उनीहरूविरुद्ध राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।पक्राउ परेकामध्ये जयराम रिमाल र विवेक पाण्डे ‘माउन्टेन रेस्क्यू सर्भिस प्रालि’ का सञ्चालक हुन्। त्यस्तै ‘नेपाल चार्टर सर्भिस प्रालि’ का सञ्चालकमा रविन्द्र अधिकारी र विवेकराज थपलिया रहेका छन् भने ‘एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालि’ का सञ्चालक मुक्ति पाण्डे र सुभाष केसी हुन्। यी कम्पनीहरूले पर्यटक उद्धारको नाममा योजनाबद्ध रूपमा नक्कली रेस्क्यू देखाएर बीमा रकम दाबी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ।
सीआईबीका अनुसार माउन्टेन रेस्क्यू सर्भिस प्रालिले हालसम्म १,२४८ जना पर्यटकको उद्धार गरेको विवरण पेश गरे पनि तीमध्ये १७१ जना पर्यटकको उद्धार नक्कली रहेको पाइएको छ। नक्कली रेस्क्यू देखाएर उक्त कम्पनीले एक करोडभन्दा बढी अमेरिकी डलर बीमा दाबी गरेको अनुसन्धानबाट खुलेको छ। वास्तविक उद्धार नगरी कागजात मिलाएर बीमा कम्पनीबाट रकम असुल्ने कार्य संगठित रूपमा गरिएको आशंका गरिएको छ।त्यसैगरी नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जना पर्यटकको उद्धार गरेको विवरण देखाएकोमा ७५ जनाको उद्धार फेक रहेको खुलेको छ। उक्त कम्पनीले फेक रेस्क्यूकै आधारमा ८२ लाख अमेरिकी डलर बराबरको बीमा रकम दाबी गरेको पाइएको सीआईबीले जनाएको छ। अनुसन्धानका क्रममा उद्धारको समय, स्थान, चिकित्सकीय सिफारिस र हेलिकप्टर प्रयोगसम्बन्धी कागजातहरूमा गम्भीर त्रुटि र मिलेमतो देखिएको बताइएको छ।एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिको हकमा पनि यस्तै खालको अनियमितता फेला परेको छ। सो कम्पनीले ६०१ जना पर्यटकको उद्धार गरेको दाबी गरे पनि तीमध्ये ७१ जनाको उद्धार शंकास्पद रहेको सीआईबीको अनुसन्धानले देखाएको छ। उक्त कम्पनीले यसबापत ११ लाख ५३ हजार अमेरिकी डलर बराबरको बीमा रकम माग दाबी गरेको पाइएको छ।
सीआईबीका अनुसार फेक रेस्क्यू प्रकरणले नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय छविमा गम्भीर असर पार्ने जोखिम रहेको छ। विशेषगरी हिमाली पर्यटन, पर्वतारोहण र साहसिक पर्यटनमा विदेशी पर्यटकको विश्वास घट्न सक्ने भन्दै अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाइएको एआईजी केसीले बताएका छन्। उनले दोषीमाथि कडा कानुनी कारबाही गरिने र यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुनको दायरामा ल्याइने स्पष्ट पारेका छन्।अनुसन्धानका क्रममा ट्राभल कम्पनी, हेलिकप्टर सेवा प्रदायक, अस्पताल तथा बीमा कम्पनीबीचको समन्वय र लेनदेनसमेत शंकाको घेरामा परेको सीआईबीको भनाइ छ। आवश्यक परे अन्य व्यक्ति तथा संस्थामाथि पनि अनुसन्धान विस्तार गरिने जनाएको छ। हाल पक्राउ परेकालाई अदालतमा पेश गरी थप अनुसन्धानका लागि म्याद लिने तयारी भइरहेको छ।नेपालमा पछिल्लो समय ‘रेस्क्यू माफिया’ सक्रिय भएको आरोप लाग्दै आएको सन्दर्भमा सीआईबीको यो कारबाहीलाई महत्वपूर्ण रूपमा हेरिएको छ। फेक रेस्क्यू नियन्त्रण गर्न नसके पर्यटन उद्योग मात्र नभई राज्यको अर्थतन्त्र र अन्तर्राष्ट्रिय विश्वासमा समेत गम्भीर असर पर्ने विज्ञहरूको भनाइ छ।