राष्ट्रियसभा निर्वाचन अन्तर्गत आइतबार सम्पन्न मतदानमा एक जना प्रदेशसभा सदस्यको मत नै चोरी भएको आशंकाले कोशी प्रदेशको राजनीतिक वृत्तमा तरंग ल्याएको छ। मतदान प्रक्रियाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउने यो घटनामा राप्रपाका प्रदेशसभा सदस्य प्रेमराज थाम्सुहाङको नामबाट मत हालिएको देखिएपछि विवाद चर्किएको हो। थाम्सुहाङले भने आफू मतदानकै दिन काठमाडौँमा रहेको र निर्वाचनमा सहभागी नै नभएको दाबी गर्दै मत फर्जी रूपमा प्रयोग गरिएको बताएका छन्।
राष्ट्रियसभा निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार कोशी प्रदेशसभाका कुल ९२ जना सांसदमध्ये ५ जनाले मतदान गरेनन् भने ८७ जनाले मतदान गरेका छन्। निर्वाचन कार्यालयले सार्वजनिक गरेको मतदान गर्ने सांसदहरूको सूचीमा राप्रपाका सांसद प्रेमराज थाम्सुहाङको नाम पनि समावेश गरिएको छ। प्रमुख निर्वाचन अधिकृत भीष्मराज प्रसाईका अनुसार थाम्सुहाङले मतदान गरेको आधिकारिक रेकर्ड निर्वाचन कार्यालयमा सुरक्षित रहेको छ।
तर थाम्सुहाङले उक्त दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनले आफू तीन दिनदेखि काठमाडौँमा रहेको र राष्ट्रियसभा निर्वाचनमा मतदान नगरेको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै उनले आफूले मतदान गरेको भन्ने समाचारप्रति गम्भीर आपत्ति जनाएका छन्। “म प्रेमराज थाम्सुहाङ, कोशी प्रदेशसभा सदस्यको हैसियतमा राष्ट्रियसभा निर्वाचनमा मतदान गरेँ भन्ने विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,” उनले लेखेका छन्, “म संलग्न दल राप्रपाको पूर्ववत् निर्णयअनुसार राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने कुरामा स्पष्ट छु। त्यसैले ती समाचारमा कुनै सत्यता छैन।”थाम्सुहाङले आफूले मतदान गरेको भन्ने समाचार तुरुन्त सच्याउन सञ्चारमाध्यमलाई आग्रहसमेत गरेका छन्। साथै उनले यस विषयमा आफूविरुद्ध षड्यन्त्र र नियोजित भ्रम फैलाइएको आरोप लगाएका छन्। सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भने, “मलाई त अचम्म लाग्यो। एक जना पत्रकार मित्रले फोन गरेर तपाईंले मतदान गर्नुभयो रे भनेर सोध्नुभयो। म त काठमाडौँ छु। कसरी मतदान गर्छु? यो दिग्भ्रमित कुरा सच्याइदिन सबैलाई अनुरोध गर्छु।”
यता प्रमुख निर्वाचन अधिकृत भीष्मराज प्रसाईले भने थाम्सुहाङको नाममा खसेको मत गणना भएर लाहाछापसमेत लागिसकेको बताएका छन्। “बकाइदा परिचयपत्र देखाएर मत हालिएको छ,” उनले भने, “उहाँले मैले मतदान गरेको होइन भन्नुभएको कुरा सुनेका हौँ। तर निर्वाचन प्रक्रिया सम्पन्न भइसकेपछि हाम्रो तर्फबाट अब केही गर्न सकिने अवस्था छैन। यदि यो विषय अदालतमा जान्छ भने त्यहाँबाट निर्णय होला।”निर्वाचन कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार कोशी प्रदेशअन्तर्गत मतदान नगर्ने प्रदेशसभा सदस्यहरूमा कांग्रेसकी लीलाकुमारी राई र एमालेकी यशोदा कायस्थ, राप्रपाकी सविना बजगाई, निमसरी राजवंशी र गोपालबहादुर विश्वकर्मा रहेका छन्। उनीहरूको नाम मतदान नगर्नेहरूको सूचीमा स्पष्ट रूपमा उल्लेख गरिएको छ।
रोचक कुरा के छ भने राप्रपाबाटै सभामुख बनेका अम्बरबहादुर विष्टले भने मतदान गरेका छन्। तर विवादमा परेका प्रेमराज थाम्सुहाङको नाम मतदान गर्ने सांसदहरूको सूचीमा परेको छ। यसले निर्वाचन प्रक्रियामा गम्भीर प्रश्न उठाएको छ।एमालेका तर्फबाट मतदान केन्द्र (बुथ) मा प्रतिनिधिका रूपमा बसेका उमेश विश्वकर्माले भने थाम्सुहाङ आफैं मतदान गर्न आएको दाबी गरेका छन्। “म उहाँलाई चिन्छु। उहाँ आफैं आएर परिचयपत्र देखाएर मतदान गर्नुभएको हो,” विश्वकर्माले भने। उनको यो भनाइले विवादलाई अझ जटिल बनाएको छ।
उता नेकपा एमालेका नेता इन्द्रबहादुर आङ्बोले पनि फर्जी मत हालेको विषयमा सञ्चारमाध्यमबाट जानकारी पाएको बताएका छन्। तर उनले यस विषयमा तत्काल धारणा सार्वजनिक गर्न नचाहेको प्रतिक्रिया दिएका छन्। “फर्जी मत हालिएको भन्ने कुरा सुनेका छौँ,” उनले भने, “अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल गरेर मात्रै बोल्नेछौँ।”यस घटनाले राष्ट्रियसभा निर्वाचनको पारदर्शिता र सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। प्रदेशसभा सदस्यकै नाममा फर्जी मत खसालिएको हो भने यो लोकतान्त्रिक प्रक्रियामाथि ठूलो चुनौती हुने राजनीतिक विश्लेषकहरूको भनाइ छ। निर्वाचन जस्तो संवेदनशील प्रक्रियामा यस्ता आरोप लाग्नुले आम नागरिकको विश्वास कमजोर बनाउने खतरा रहेको उनीहरू बताउँछन्।थाम्सुहाङले यस विषयमा आवश्यक परे कानुनी बाटो अपनाउने संकेतसमेत गरेका छन्। अब यो प्रकरण निर्वाचन आयोग वा अदालतसम्म पुग्ने कि नपुग्ने भन्ने चासो बढेको छ। जे होस्, राष्ट्रियसभा निर्वाचनमा देखिएको यो विवादले आगामी दिनमा निर्वाचन प्रणालीलाई अझ कडा र विश्वसनीय बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।