काठमाडौ। मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (वैशाख मसान्त) सम्ममा करिब ६ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले बक्यौता असुली र बजार अनुगमन कार्यलाई तीव्रता दिएका कारण गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा यस वर्ष रु ३४ करोड २१ लाख २४ हजार बढी राजस्व उठेको हो। कार्यालयका अनुसार यस अवधिमा कुल रु ५ अर्ब ९२ करोड ६४ लाख राजस्व सङ्कलन भएको छ।
कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्ममा सबैभन्दा बढी अन्तशुल्कतर्फ रु ३ अर्ब ४५ करोड ६२ लाख ६५ हजार सङ्कलन भएको छ। यसैगरी आयकरतर्फ रु १ अर्ब २ करोड ४ लाख ९६ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ रु ८२ करोड ७१ लाख ५२ हजार र स्वास्थ्य जोखिम करतर्फ रु ५१ करोड ९२ लाख ५९ हजार संकलन भएको छ। बैंक तथा वित्तीय संस्थाको ब्याजकरतर्फ रु ६ करोड ८३ लाख ७७ हजार र घरबहाल करतर्फ रु १ करोड ५९ लाख ८८ हजार राजस्व उठेको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख सुवेदीले चालु आर्थिक वर्षका लागि कुल रु ८ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेको जानकारी दिनुभयो। लक्ष्य भेटाउन कार्यालयले विशेष सक्रियता देखाएको छ। यसै क्रममा करदाताहरूको घरदैलोमै पुग्ने, टेलिफोन तथा एसएमएसमार्फत ताकेदा गर्ने र सरकारले ल्याएका कर छुटसम्बन्धी सुविधाहरूको व्यापक प्रचारप्रसार गर्ने जस्ता विशेष अभियान सञ्चालन गरिएका छन्। यस्ता रणनीतिक प्रयासहरूका कारण मात्रै यस वर्ष रु १० करोडभन्दा बढी पुरानो बक्यौता रकम असुल गर्न सफल भएको प्रमुख सुवेदीले बताउनुभयो।