• Thursday, March 5, 2026

अहंकारमुक्त राजनीति र नयाँ पुस्ताको आकांक्षा पुरा गर्न युवा नेता सेर्पालीको अपिल



आजको नेपाली राजनीति अहंकार, स्वार्थ र अनुत्तरदायित्वको जटिल जालमा अल्झिएको देखिन्छ ।योङ्ग कम्युनिष्ट लिगका पूर्व अध्यक्ष सुवोध सेर्पाली भन्छन "परिवर्तनका नारा वर्षौँदेखि गुञ्जिरहे पनि नेताहरूको व्यवहार भने समयसँगै परिष्कृत हुन नसकेको एउटा कठोर यथार्थ हो । राजनीतिक दलहरू ,कांग्रेस, एमाले, विभिन्न कम्युनिस्ट धाराहरू वा नयाँ शक्ति दाबी गर्ने पार्टीहरू सबैमा परिवारवाद, आसेपासेको चाकरी र व्यक्तिगत लाभको संस्कार यति मौलाएको छ कि जनताको अपेक्षा, राष्ट्रको भविष्य र युवापुस्ताको उर्जा तिनको प्राथमिकतालाई छोएनन् ।"

उनि थप्छन,"यही कारणले आज जेन जेड पुस्ताले उठाएको आवाज, परेको चोट र देखाएको बिद्रोह केवल भावनाको आवेग होइन; यो समयको माग हो, पुरानो राजनीतिक संरचनामा आएको गहिरो क्षरणको निदान हो, र नयाँ राजनीतिक संस्कृतिको घोषणा हो । श्रीपालीनुसार, युवा पुस्ता आजको राजनीतिक फोहर, भ्रष्टता र क्षुद्र स्वार्थबाट आजित छ; उनीहरू परिवर्तन केवल सुन्न होइन, देख्न चाहन्छन् व्यवहारमा, नेतृत्वमा र निर्णयमा ।तर, विडम्बना यत्ति छ कि देशले दशकौँसम्म अवसर, पद, सम्मान र जिम्मेवारी दिएको अनुभवी नेतृत्वले अझै पनि पद–लालसा, सत्तामोह र व्यक्तिगत प्रतिष्ठामै आफूलाई बाँधेर राखेको छ। यसले राजनीतिलाई केवल पुरानै सुर–तालमा चलाइरहेको छ, जहाँ शब्दहरू नयाँ जस्ता लाग्छन् तर चरित्र उही पुरानै ।" सेर्पालीअगाडि थप्छन,"देशले आफ्नो जीवनको अमूल्य समय राजनीति र जनहितका नाममा दिएका नेताहरूलाई पर्याप्त सम्मान गरिसकेको छ; अब समय छ, स्वार्थका आशा–अपेक्षा मारेर राष्ट्रलाई नयाँ पुस्ताको हातमा विश्वस्त साथसाथै जिम्मेवारी सुम्पने ।समाज आज नातावाद, व्यक्तिवाद र गुटबन्दीले यति क्षतविक्षत छ कि उसले कम्तीमा एकपटक आशा गर्न पाओस्“अब त कांग्रेस बदलियो होला, अब त एमाले सुध्रियो होला, अब त कम्युनिस्टहरू व्यवहारमा जिम्मेवार बने होलान्, अब त रास्वपा पनि सिद्धान्तमा स्थिर भयो होला”भनेर । तर यसका लागि केवल परिवर्तनको भाषण होइन, परिवर्तनको प्रस्तुति आवश्यक छ।"

सेर्पाली सामाजिक संजाल फेसबुकमा लेखेका छन् ,'हामी सबैले आफ्नो सोच परिमार्जन गर्नुपर्छ।' “म मात्र सही, अरू सबै गलत” भन्ने संकुचित, दल–केन्द्रित मानसिकता त्यागेर ‘नागरिक’को भूमिकामा फर्कनुपर्छ। राम्रोलाई खुलेर साथ दिने र गलतलाई दृढताका साथ टाढा राख्ने संस्कार विकास भएन भने, राजनीतिको अहंकारी डमरू कति नै गजगजाए पनि, त्यसले निकाल्ने सुर–ताल उही पुरानै रहनेछ र परिणाम फेरि पनि शून्यमै सीमित हुनेछ ।आजको नेपाललाई आवश्यक छ-इमानदार दृष्टि, जिम्मेवार नेतृत्व, पारदर्शी राजनीति र युवापुस्ताको ऊर्जा।

सेर्पालीको भनाइ यही परिवर्तनको आवाज हो, यही जागरणको संकेत हो, र यही नयाँ यात्राको उद्घोष हो—जहाँ राजनीति पदको होइन, राष्ट्रको सेवा बन्न सकोस्, र परिवर्तन आशा होइन, वास्तविकता बनोस्।

Please Login to comment in the post!

you may also like