बेलायतका राजा चार्ल्स तेस्रोले आफ्ना भाइ एन्ड्रुबाट ‘प्रिन्स’ शीर्षकसहित सबै राजसी उपाधि खोस्ने निर्णय गरेका छन्। बिहीबार सार्वजनिक गरिएको राजदरबारको विज्ञप्तिअनुसार, अब एन्ड्रु आधिकारिक रूपमा “प्रिन्स एन्ड्रु” होइन, “एन्ड्रु माउन्टब्याटन–विन्डसर” नामले चिनिने छन्। राजा चार्ल्सले एन्ड्रुलाई विंडसरस्थित रोयल लज खाली गर्न आदेश दिँदै नोर्फकको स्यान्ड्रिङघम इस्टेटमा स्थानान्तरण हुने व्यवस्था मिलाएका छन्।
एन्ड्रु २००३ देखि ७५ वर्षको लिज सम्झौतामा रोयल लजमा बस्दै आएका थिए, तर हालका विवाद र सार्वजनिक आलोचनापछि राजदरबारले विशेष छलफल गरी सो सम्पत्तिबाट हटाउने निर्णय गरेको बताइएको छ। उनी आगामी साता भित्रै स्यान्ड्रिङघमको एक निजी निवासमा बसाइ सर्ने तयारीमा छन्।राजा चार्ल्सको यो कदम एन्ड्रुसँग जोडिएका विवाद, विशेषगरी जेफ्री एप्स्टिनसँगको सम्बन्ध र यौन दुराचार आरोपका कारण राजपरिवारको छवि धूमिल भएपछि आएको हो। राजदरबारका स्रोतका अनुसार यो निर्णयले राजपरिवारमा “जवाफदेहिता र विश्वसनीयता पुनर्स्थापना गर्ने” सन्देश दिने उद्देश्य राखेको छ।तर कानुनी रूपमा एन्ड्रुको रोयल लजको लिज तोड्न सहज छैन, किनभने उनीसँग निजी आवास सम्झौता रहेको बताइन्छ। त्यसैले सम्पत्तिबारे अन्तिम निर्णयका लागि थप कानुनी प्रक्रिया आवश्यक पर्ने जनाइएको छ।विश्लेषकहरूले यो कदमलाई बेलायती राजतन्त्रको इतिहासमा महत्वपूर्ण मोडको रूपमा हेरेका छन्, जहाँ राजपरिवारका सदस्यहरूको विशेषाधिकारभन्दा बढी सार्वजनिक विश्वास र जिम्मेवारीलाई प्राथमिकता दिइएको छ।