अमेरिकी राष्ट्रपतिहरूका विदेश भ्रमण प्रायः विश्वमञ्चमा अमेरिकाको शक्ति प्रदर्शन गर्ने अवसर मानिन्छ। तर डोनाल्ड ट्रम्पको हालै सम्पन्न पाँचदिने पूर्वी एसिया भ्रमण भने ट्रम्पकै व्यक्तिगत शक्ति प्रदर्शनको जस्तै देखियो—यद्यपि त्यस शक्तिका सीमाहरू पनि स्पष्ट भए।मलेसिया, जापान र दक्षिण कोरियामा उनले गरेका पहिलो चार दिनका भ्रमणहरूमा ती देशका नेताहरू ट्रम्पलाई सन्तुष्ट पार्नमा व्यस्त रहे। अमेरिकी राष्ट्रपति एक हस्ताक्षरमै निर्यातमुखी देशहरूको अर्थतन्त्रलाई असर पार्न सक्ने भएकाले ती मुलुकहरूले सम्झौतामा लचकता देखाएका थिए। मलेसियामा ट्रम्पले महत्त्वपूर्ण खनिज स्रोतमा पहुँच पाएका र दक्षिणपूर्वी एशियाली देशहरूसँग व्यापारिक सहमति अघि बढाएका छन्। साथै उनले थाइल्यान्ड र कम्बोडियाबीचको सीमा तनाव घटाउने सम्झौतामा पनि भूमिका खेलेका छन्।जापानमा उनले नयाँ प्रधानमन्त्री सानाए ताकाइचीसँग भेट गरेर ५५० अर्ब डलरको लगानी प्रतिवद्धता प्राप्त गरे। ताकाइचीले ट्रम्पलाई अमेरिका–जापान मैत्रीको प्रतीकस्वरूप २५० च्येरीका बोटहरू, सुनको किनार भएको गोल्फ क्लब र दिवंगत पूर्व प्रधानमन्त्री शिन्जो आबेले प्रयोग गरेको ब्याग उपहार दिइन्। उनले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिससमेत गरिन्।
दक्षिण कोरियामा ट्रम्पको स्वागत राजकीय शैलीमा भयो। २१ तोप सलामी, सेनाको ब्यान्डद्वारा YMCA गीत र सम्मान समारोह हुँदै राष्ट्रपति ली जे–म्युङले उनलाई कोरियाको सर्वोच्च पदक र प्राचीन राजवंशीय मुकुटको प्रतिकृति उपहार दिए। लीले अमेरिकामा २० अर्ब डलर वार्षिक लगानी गर्न सहमति जनाउँदा ट्रम्पले कोरियाली निर्यातमा लगाइएको २५ प्रतिशत शुल्क घटाएर १५ प्रतिशतमा झारे।तर भ्रमणको मुख्य आकर्षण अन्तिम दिनको चीनका राष्ट्रपति सी जिनपिङसँगको भेट थियो। यो भेट अन्य मुलुकहरूको तुलनामा भव्य नभई औपचारिक र तनावपूर्ण वातावरणमा बसानको सैनिक भवनमा सम्पन्न भयो। ट्रम्प र सीबीचको यो वार्तामा दुवै मुलुकका अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा र जनकल्याणका सवालमा ठूलो दाउ थियो।
ट्रम्पले महिनौँदेखि चीनका वस्तुमा उच्च शुल्क लगाउने धम्की दिँदै आएका थिए, जसको जवाफमा चीनले अमेरिकी कृषिजन्य वस्तु खरिद रोकेको र दुर्लभ खनिजको निर्यात नियन्त्रण गर्ने चेतावनी दिएको थियो। अन्ततः दुबै पक्षले तनाव घटाउने सहमति गरे — अमेरिकाले केही शुल्क घटायो भने चीनले अमेरिकी तेल, ग्यास र कृषिजन्य वस्तु पुनः खरिद गर्ने वाचा गर्यो।यद्यपि यस भेटबाट ठूलो उपलब्धि हासिल नभए पनि दुवै देशले आपसी संघर्ष दीर्घकालीन रूपमा टिक्न नसक्ने स्वीकार गरेका छन्। सी जिनपिङले पनि उद्घाटन सम्बोधनमा भने, “विश्वका दुई ठूला अर्थतन्त्रबीच कहिलेकाहीँ घर्षण हुनु सामान्य कुरा हो।”ट्रम्पको भ्रमणले जापान र दक्षिण कोरियाजस्ता अमेरिकी सहयोगीहरूलाई नयाँ कूटनीतिक यथार्थमा ढालिन बाध्य पारेको छ। उनीहरूले ट्रम्पलाई सन्तुष्ट पार्न आर्थिक र राजनीतिक लचकता देखाए, तर यस्तो दबाबले दीर्घकालमा अमेरिकी सम्बन्धमाथि पुनर्विचार गर्नुपर्ने अवस्था ल्याउन सक्छ।
ट्रम्प कोरियाबाट फर्किँदा सी जिनपिङ त्यहीँ पुग्दै थिए — र उनलाई पनि समान स्तरको स्वागतको तयारी गरिएको थियो। ट्रम्पले एशियाबाट आफूले चाहेका सबै उपलब्धि पाएजस्तो देखिए पनि, विश्लेषकहरूका अनुसार यो यात्रा अमेरिकाले आवश्यक पाएको कूटनीतिक सन्तुलन भने कायम गर्न नसकेको संकेत हो।