काठमाडौं उपत्यकामा हरियो तरकारीको भाउ निरन्तर उकालो लाग्दै गएपछि उपभोक्ता मारमा परेका छन्। सिजनका तरकारी बजारमा भित्रिएर भाउ घट्ने अपेक्षा भइरहेका बेला उल्टै मूल्य वृद्धि भएको छ। असोजमा अविरल वर्षाले भाउ बढाएको तरकारी अहिले फेरि वर्षा सुरु भएपछि अझै महँगिएको छ। व्यापारीहरूले वर्षालाई कारण देखाउँदै मनपरी मूल्यवृद्धि गरेको उपभोक्ताहरूको गुनासो छ।
नयाँ बानेश्वरकी सुजता भट्टले बिहीबार बिहान आलु किन्न जाँदा किलोको मूल्य १०० रुपैयाँ सुनिन्। घिउसिमीको भाउ सोध्दा पसलेले १७० रुपैयाँ भनेपछि उनी अचम्म परिन्। “एक हप्ता अघि ५० रुपैयाँमा लिएको आलु आज १०० पुग्यो, पसलेको पनि मनपरी हो,” उनले भनिन्। पसलेहरू भने होलसेलमै भाउ बढेकाले खुद्रामा पनि बढाउन बाध्य भएको तर्क गर्छन्।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार साउनदेखि १३ कात्तिकसम्म चार महिनाको अवधिमा केही तरकारीको भाउ ५ सय प्रतिशतसम्म बढेको छ। तने बोडीको मूल्य १९ रुपैयाँबाट बढेर १ सय १२ रुपैयाँ पुगेको छ भने तिते करेला १७ बाट बढेर ८७ रुपैयाँमा पुगेको छ। लौका, फर्सी, भिन्डी र ब्रोकाउलीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। अहिले बजारमा कुनै पनि तरकारी १०० रुपैयाँभन्दा कममा किन्न मुस्किल परेको उपभोक्ताहरू बताउँछन्।
कालीमाटी बजारका तथ्यांक अनुसार लौकाको मूल्य २ सय १९ प्रतिशत, फर्सीको २ सय ५७ प्रतिशत र ब्रोकाउलीको १ सय ५७ प्रतिशतले वृद्धि भएको छ। आलुको मूल्य पनि ८० प्रतिशतसम्म बढेको छ। तर प्याज, स्कुस, रायो साग र तोरी सागजस्ता केही वस्तुको मूल्य भने घटेको छ।तर कालीमाटी बजारका सूचना अधिकारी विनय श्रेष्ठले मूल्यवृद्धि त्यति धेरै नभएको दाबी गर्दै अहिले वर्षायामको तरकारीको सिजन सकिँदै हिउँदे तरकारी आउन बाँकी भएकाले ‘बजारमा ग्याप’ देखिएको बताए। उनले करिब दुई साताभित्र हिउँदे तरकारी बजारमा आइपुगेपछि मूल्य घट्ने अपेक्षा व्यक्त गरे।
नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष भरतप्रसाद खतिवडाका अनुसार पछिल्लो वर्षाका कारण आपूर्ति श्रृंखला प्रभावित भएको हो। “पानीका कारण बाटोघाटो अवरुद्ध हुँदा तरकारी आपूर्ति घटेको र त्यसैले भाउ बढेको हो,” उनले बताए।बुधबार कालीमाटी बजारमा ३ लाख ७७ हजार किलोभन्दा बढी हरियो तरकारी आयात भएकोमा बिहीबार यो घटेर १ लाख ४७ हजार किलोमा सीमित भएको तथ्यांकले देखाउँछ। आपूर्ति घट्दै जाँदा भाउ अझै केही दिन स्थिर हुन नसक्ने व्यापारीहरूको अनुमान छ।उपभोक्ताहरू भने दैनिक तरकारी खरिदमा निकै आर्थिक दबाबमा परेका छन्। सिजनमै यति उच्च मूल्य वृद्धि भएपछि उनीहरूले सरकार र बजार नियामक निकायसँग प्रभावकारी अनुगमनको माग गरेका छन्।