राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले मुलुकको समग्र विकासका लागि राजनीतिक दल, नागरिक समाज र स्थानीय समुदायबीच अन्तरसमन्वय अत्यावश्यक रहेको बताएका छन्। जिल्ला व्यास नगरपालिका–१ स्थित रतौली टोल विकास संस्थाद्वारा जलेश्वर महादेव मन्दिरमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा बोल्दै उनले सरकारको मात्र मुख ताक्ने प्रवृत्ति अन्त्य गरी आपसी सहकार्यबाट विकास अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।डा. वाग्लेका अनुसार जिल्लालाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकसित गर्न स्थानीयवासीले देखाएको सक्रियता प्रशंसनीय छ। “सबै कुरा सरकारले मात्र गर्न सक्दैन,” उनले भने, “आफ्नो क्षेत्रको विकासका लागि राजनीतिक दलदेखि सर्वसाधारणसम्म सबै एकजुट हुनुपर्छ।”
जेनजी आन्दोलनपछि मुलुक नयाँ मोडमा प्रवेश गरेको उल्लेख गर्दै उनले राजनीतिक विकृति हटाउन आफ्नो पार्टीले प्रतिनिधिसभामा बारम्बार ध्यानाकर्षण गराउँदै आएको बताए। युवा विदेश पलायनको बढ्दो प्रवृत्ति रोक्न स्वदेशमै रोजगारी र गरिखाने वातावरण निर्माण गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा पनि उनले जोड दिए।सो अवसरमा डा. वाग्लेले धर्मशाला निर्माणका लागि २५ हजार रुपैयाँ सहयोग गरे। महायज्ञका मूल पण्डित कपिलदेव भट्टले उनलाई टीका, दोसल्ला र प्रमाणपत्र प्रदान गरेर सम्मान गरे।महायज्ञका संयोजक अभिमानसिं बस्नेतका अनुसार धर्मशाला, होमकुण्ड र शिवलिङ्ग कुण्ड निर्माण गर्ने उद्देश्यले मंसिर ६ देखि १३ गतेसम्म महायज्ञ सञ्चालन गरिएको हो।