अमेजनका हरियाली जंगल र नदीहरूको देश ब्राजिलको बेलेममा सोमबारदेखि संयुक्त राष्ट्रसंघीय जलवायु महासन्धि सम्मेलनको ३०औँ संस्करण ‘कप ३०’ सुरु भयो। १० देखि २१ नोभेम्बरसम्म चल्ने यस बैठकमा विश्वका देशहरूले जलवायु संकटसँग जुध्ने साझा अभियान र महत्त्वपूर्ण सम्झौताका तयारीमा छन्।तर सम्मेलन सुरु हुने बित्तिकै ब्राजिलको व्यवस्थापन कमजोर देखिएको छ।आयोजन स्थलमा वर्षाले पानी चुहिँदा टेन्ट अस्तव्यस्त बने, साओ पाउलो विमानस्थलमा उडान र लगेजमा अड्कलले सहभागिहरूको धैर्य परीक्षण गर्यो। डिजेलबाट चल्ने जेनेरेटरले बिजुली उत्पादन गर्नु, नवीकरणीय ऊर्जाबारे छलफल भइरहेकै समयमा पेट्रोल–डिजेल प्रयोग हुनु आफैंमा विडम्बना बनेको छ।बेलेममा सम्मेलन हुनुको उद्देश्य स्पष्ट छ — अमेजनतर्फ विश्वको ध्यान खिच्नु। ब्राजिलका प्रधानमन्त्री लुला दा सिल्भाले उद्घाटन समारोहमा भने, “अमेजनको मुटुमा कप आयोजना गर्नु सहज छैन, तर यो गरिनु अत्यन्तै आवश्यक छ।” स्थानीय बासिन्दा अनुसार यहाँ यति ठूलो कार्यक्रम पहिलोपटक भएको छ। होटल–रेस्टुराँ र सवारी सेवामा व्यस्तता बढेको छ, तर महँगो खर्चका कारण सहभागी संख्या घटेको छ।नेपाल पनि यस महत्त्वपूर्ण सम्मेलनमा उपस्थित छ।
कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियार नेतृत्वको ११ सदस्यीय टोली दोस्रो साता बेलेम आइपुग्नेछ। यस अघि ‘लिडर समिट’ मा वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले नेपालको जलवायु चुनौती र हानि–नोक्सानी कोषमा सहज पहुँचको आवश्यकता उल्लेख गरे।उद्घाटनकै दिन हानि–नोक्सानी कोषको पहिलो चरण सुरु भएको छ, जसका लागि २५० मिलियन अमेरिकी डलर छुट्याइएको छ। नेपालले यस कोषमा आवेदन दिन सक्छ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरू मार्फत। ग्लोबल इन्भायरोमेन्ट फ्यासिलिटी लगायत क्षेत्रीय साझेदार संस्थाले पनि नेपालको सहभागिता सुनिश्चित गरिरहेका छन्।
कप ३० मा सहभागीहरूले स्थानीय पहिरनमा उपस्थित भएर, अमेजनको हरियाली र जलवायु संकटको गम्भीरतालाई नजिकबाट महसुस गरे। सानो देश नेपालका लागि पनि यस सम्मेलनमा उपस्थित हुनुले विश्वसँग संवाद गर्न, साझा आवाज उठाउन र जलवायु न्यायको माग अघि बढाउन अवसर दिएको छ।