• Wednesday, March 4, 2026

नेपाल स्काउटको जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचनाहरूमा काठमाडौं महानगरपालिकाको डोजर


काठमाडौं, २७ कात्तिक । काठमाडौं महानगरपालिकाले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचनाहरू आज बिहान डोजर लगाएर भत्काएको छ । नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालय परिसरमा पूर्वऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्काले भाडामा लिएको जग्गामा बनाइएका विभिन्न भवन तथा संरचना पूर्ण रूपमा ध्वस्त पारिएका छन् ।महानगरको प्रहरी टोली डोजरसहित बिहानै करिब ७ बजेतिर स्काउट परिसरमा पुगेको थियो । स्काउटका पदाधिकारीहरूको रोहबरमा महानगरले ती संरचनाहरू भत्काउने काम सुरु गरेको हो । भत्काइएका संरचनाहरूमा खड्काले सञ्चालन गर्दै आएको पार्टी प्यालेस, रेस्टुरेन्ट र अन्य व्यावसायिक भवनहरू रहेको बताइएको छ ।

नेपाल स्काउटले खड्कालाई लामो समयदेखि भाडा नतिरेको भन्दै २० कात्तिकमा सार्वजनिक सूचना जारी गरेको थियो । उक्त सूचनामा सात दिनभित्र सम्पूर्ण बाँकी भाडा चुक्ता गर्न म्याद दिइएको थियो । म्याद आज सकिएपछि स्काउटले महानगरपालिकासँग सहकार्य गरेर अवैध संरचना हटाउने निर्णय गरेको थियो ।स्काउटका अनुसार खड्काले करिब १० वर्षअघि जग्गा भाडामा लिएका थिए तर पछिल्ला वर्षहरूमा भाडा तिर्न पूर्ण रूपमा बन्द गरेका थिए । बाँकी भाडा रकम करोडौं रुपैयाँ पुगेको स्काउटले जनाएको छ । सूचनामा भाडा नतिरे जग्गामा बनेका सबै भवन तथा सामग्री जफत गर्ने र त्यसबाट पनि नपुगे खड्काको व्यक्तिगत जायजेथाबाट असुल गर्ने चेतावनी दिइएको थियो ।महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सार्वजनिक जग्गा अतिक्रमण गरेर निजी स्वार्थका लागि प्रयोग गर्न नदिने नीति अनुसार कारबाही गरिएको बताए । “हामीले स्काउटको लिखित अनुरोध र प्रमाणका आधारमा यो कदम चालेका हौं,” उनले भने ।

यता, नेता खड्काले भने यो विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन् । उनको सचिवालयले फोन उठाएन भने कार्यालयमा सम्पर्क गर्दा उनी सम्पर्कमा नरहेको बताइएको छ ।नेपाल स्काउटका महासचिव लोकबहादुर भण्डारीले जग्गा फिर्ता पाएसँगै अब यो परिसरलाई स्काउटको प्रशिक्षण केन्द्र र अन्य शैक्षिक गतिविधिका लागि प्रयोग गरिने योजना रहेको जानकारी दिए । “हाम्रो जग्गा दुरुपयोग भएकोमा अब मुक्त भएको छ,” उनले भने ।यो घटनाले काठमाडौंमा सार्वजनिक तथा संस्थागत जग्गा अतिक्रमणको विषय फेरि एकपटक चर्चामा आएको छ । विभिन्न राजनीतिक व्यक्ति र प्रभावशालीहरूले यस्ता जग्गा दुरुपयोग गर्दै आएको भन्दै नागरिक समाजले कडा कारबाहीको माग गर्दै आएका थिए ।महानगरले अब पनि यस्ता अतिक्रमित संरचना हटाउने अभियानलाई तीव्रता दिने जनाएको छ । लैनचौर घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै अन्य ठाउँमा पनि छिट्टै डोजर चल्ने सम्भावना रहेको बताइएको छ ।

Please Login to comment in the post!

you may also like