विश्वका उत्कृष्ट वैज्ञानिकहरूको वार्षिक सूचिमा यसपटक नेपालमा कार्यरत ३१ जना वैज्ञानिकहरूको नाम समावेश भएको छ। अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालय र वैज्ञानिक प्रकाशन संस्था एल्सेभियर को सहकार्यमा तयार गरिएको यो ‘ग्लोबल साइन्टिस्ट र्याङ्किङ–२०२५’ सूचीमा नेपालका विभिन्न विश्वविद्यालय र अनुसन्धान संस्थानमा कार्यरत वैज्ञानिकहरू परेका हुन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का सचिव रवीन्द्र ढकालका अनुसार, स्ट्यानफोर्डले हरेक वर्ष वैज्ञानिकहरूको अनुसन्धान, प्रकाशन र ‘साइटेसन’ अर्थात् तिनका कार्यहरूलाई अन्य वैज्ञानिकहरूले उद्धृत गरेको संख्याका आधारमा यो सूची तयार गर्छ। उनले भने, “सन् २०२५ को सूचिमा नेपालमा कार्यरत ३१ जना वैज्ञानिकहरू समावेश हुनु देशकै गौरवको कुरा हो। यसले नेपाली अनुसन्धानकर्ताहरूको विश्वव्यापी प्रभाव र योगदानलाई प्रमाणित गरेको छ।”सूचीमा परेकामध्ये त्रिभुवन विश्वविद्यालयका सात जना वैज्ञानिकहरू छन् — अजय भट्टराई, रमेशप्रसाद अधिकारी, भीष्म कार्की, नीरञ्जन पराजुली, रामप्रसाद शर्मा, गोविन्दप्रसाद ढुङ्गाना र त्रिवि शिक्षण अस्पतालका रञ्जितकुमार शाह।
यस्तै, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सञ्जीवकुमार शर्मा र सुमन रिजाल, नेपाल हेल्थ रिसर्च काउन्सिलका मेघनाथ धिमाल र इसिमोडका अरुणभक्त श्रेष्ठ तथा फिलिप वेस्टर पनि सूचीमा परेका छन्।त्यस्तै नाष्टका वैज्ञानिक डा. नीरञ्जन कोइराला, काठमाडौँ इन्स्टिच्युट अफ कम्प्लेक्स फ्लोजका शिवप्रसाद पुडासैनी, ग्लोबल सेन्टर फर रिसर्च एण्ड डेभलपमेन्टका छविलाल रानाभाट, इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युटका सन्तोष नेपाल, ट्रान्सकल्चरल साइकोसोसल अर्गनाइजेसन नेपालका मार्क जेडी जोर्डन्स र गण्डकी विश्वविद्यालयका राजकुमार थापा पनि सो सूचीमा परेका छन्।यसबाहेक, काठमाडौँ विश्वविद्यालयका सुदनकुमार झा, सिईएमवाइटीका पिटर आर. हब्स, ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिजका सुरेन्द्र केसी, **ग्रेड एकेडेमी प्रा.लि. का रन्दिप रकुवाल र गणेशकुमार अग्रवाल, काठमाडौं क्यान्सर सेन्टरका सुनिलकुमार श्रेष्ठ, लुम्बिनी मेडिकल कलेजका आलोक आत्रेय, बायोटेक्नोलोजी सोसाइटी अफ नेपालका विकास बराल, एनएनआरसीका उत्तम पौडेल, सिलिकन स्क्रिप्ट साइन्स प्रा.लि. का पुकार खनाल, ग्लोबल हेल्थ रिसर्च एण्ड मेडिकल इन्टरभेन्सन फर डेभलपमेन्टका सुरज भट्टराई र कलेज अफ मेडिकल साइन्सेज नेपालका विपिन चौरसिया पनि समावेश छन्।सचिव ढकालका अनुसार, नेपाली वैज्ञानिकहरूले स्वास्थ्य, जलस्रोत, कृषि, वातावरण र दिगोपन जस्ता क्षेत्रमा विश्वस्तरका अनुसन्धानमार्फत योगदान पुर्याइरहेका छन्। उनले थपे, “यो उपलब्धिले नेपालको वैज्ञानिक क्षमताको अन्तर्राष्ट्रिय पहिचान बढाएको छ। अब सरकारले अनुसन्धान र नवप्रवर्तनमा अझ बढी लगानी गर्नुपर्ने आवश्यकता स्पष्ट भएको छ।”नेपालका ३१ जना वैज्ञानिकहरू विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचिमा पर्नु देशका लागि ठूलो प्रेरणा र गौरवको विषय भएको नाष्टले जनाएको छ।