बागलुङ - आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागलुङमा गरेको उम्मेदवार चयनप्रति पार्टीभित्रै व्यापक असन्तुष्टि चुलिएको छ। केन्द्रले स्थानीय भावना विपरीत 'हस्तक्षेप' गरेर टिकट वितरण गरेको भन्दै जिल्लास्तरका नेता तथा कार्यकर्ताहरू सामाजिक सञ्जालमार्फत विरोधमा उत्रिएका छन्।
रास्वपाले बागलुङ क्षेत्र नम्बर १ मा सुशील खड्का र क्षेत्र नम्बर २ मा सोम शर्मालाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको छ। तर, यी दुवै उम्मेदवारहरू जनतासँग नभिजेको र जिल्लाको भौगोलिक वस्तुस्थितिबारे समेत अनभिज्ञ रहेको आरोप असन्तुष्ट पक्षको छ।क्षेत्र नम्बर १ बाट टिकटका बलिया दाबेदार मानिएका खिमानन्द कँडेलले केन्द्रको यो निर्णयलाई 'ठाडो हस्तक्षेप' को संज्ञा दिएका छन्। उनले बागलुङको राजनीतिक परिवर्तन र आन्दोलनमा कुनै योगदान नभएका व्यक्तिलाई पहुँचका आधारमा टिकट थमाइएको भन्दै आपत्ति जनाए।"बागलुङको परिवर्तनको लडाइँमा कुनै योगदान नभएका र केन्द्रमा पहुँच राखेकै भरमा 'ग्याङ अफ अमेरिकन क्लब' को लिस्टमा अटाउनेलाई टिकट दिनु बागलुङे जनताको हित विरुद्ध हो," कँडेलले भने, "जनताको भावना र मर्म कुल्चिएर गरिएको यस्तो निर्णय हामीलाई स्वीकार्य छैन।"अर्का नेता राजेन्द्र शर्माले पनि पार्टीको "टिके प्रथा" विरुद्ध आक्रोश पोखेका छन्। उनले केन्द्रले जिल्लाको वस्तुस्थिति नबुझी उम्मेदवार लादेको भन्दै अब आफू स्वतन्त्र उम्मेदवारको रूपमा अघि बढ्ने उद्घोष गरेका छन्। शर्माले भने, "बागलुङको समग्र परिवर्तनका लागि मलाई एकपटक मौका दिनुहोस्। यो टिके प्रथा विरुद्ध हामी बागलुङबासी एक छौँ।"पार्टीभित्रको यो विवादले चुनावी नतिजामा असर पर्न सक्ने भन्दै कार्यकर्ताहरू चिन्तित देखिएका छन्। सामाजिक सञ्जालमा समेत रास्वपाको यो निर्णयको आलोचना भइरहेको छ, जहाँ धेरैले "पुरानै दलको प्रवृत्ति" दोहोरिएको भन्दै टिप्पणी गरेका छन्।