सरकार ले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिसा सेन्टर स्थापना गर्नका लागि प्राथमिकताका आधारमा गन्तव्य मुलुक छनोट गरी परराष्ट्र मन्त्रालयमा तत्काल पत्राचार गर्ने निर्णय गरेको छ। भैरहवा र पोखरा बिमानस्थल संचालनको लागि कार्ययोजना बनाउन गठित समितिले दिएको सुझाबको आधारमा सरकार ले निम्न निर्णय गरेको स्रोतले बिजिनेस प्रेसलाई बतायो।
–सम्बन्धित कूटनीतिक नियोगसँग समन्वय एवं पत्राचार तथा कूटनीतिक पहलको माध्यमबाट वैदेशिक रोजगारका मुख्य गन्तव्य मुलुकमा जानका लागि आवश्यक पर्ने भिसा पोखरा र भैरहवाबाटै आवेदन गर्न र प्राप्त गर्न सक्ने व्यवस्था तत्काल मिलाउने,
–वैदेशिक रोजगार व्यवसायीको शाखा कार्यालय स्थापना गर्न आवश्यक नीतिगत प्रबन्ध र निर्देशन १५ दिनभित्र गर्ने, (श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहयोगमा)
–श्रम स्वीकृति लगायतका कार्य गर्न वैदेशिक रोजगार कार्यालय स्थापना भइसकेकोमा १५ दिनभित्र आवश्यक जनशक्तिको व्यवस्था गर्ने,
–वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने मान्यताप्राप्त स्वास्थ्य संस्थाहरूको सेवा पोखरा र भैरहवाबाटै प्रदान गर्ने व्यवस्था १ महिनाभित्र मिलाउने,
–वैदेशिक रोजगारीमा जाने कामदारहरूको प्रस्थानपूर्वको अभिमुखीकरण तथा तालिम लगायतका कार्यहरू पोखरा र भैरहवाबाटै हुने व्यवस्था १ महिनाभित्र मिलाउने,
–सामाजिक सुरक्षा कोष, बीमा र श्रमिक कल्याणसँग सम्बद्ध निकायसँग समन्वय गरी पोखरा र भैरहवाबाटै सेवा प्रदान हुने व्यवस्था २ महिनाभित्र मिलाउने,
–पोखरा र गौतमबुद्ध विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई टिकटमा लगाउने गरिएको ३ हजार रुपैयाँ यात्रु सेवा शुल्क ७ दिनभित्र पूर्ण रुपमा छुट दिने,
–यी दुई विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्क पूर्णरुपमा छुट दिने
–अन्तर्राष्ट्रिय हवाई उडानमा टिकटमा लगाइने १ हजार रुपैयाँ पर्यटन शुल्क पूर्ण रूपमा छुट दिने,
–विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिने,
–१५ दिनभित्र कोड सेयरिङ्गको नीतिगत व्यवस्था गर्ने,
–दुई वटा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवा कम्पनीलाई द्विपक्षीय हवाई सेवा सम्झौता बमोजिम पाचौँ फ्रिडम प्रदान गर्ने,
–यी दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय गन्तव्यमा जाने आउने यात्रुहरुलाई डोमेस्टिक उडानमा पनि सोही बराबरको लगेज सुविधा प्रदान गर्ने,
–दुई विमानस्थलको अन्तर्राष्ट्रिय बजारीकरण व्यापक रुपमा गर्ने र
–नेपालमा दर्ता भइ अन्तर्राष्ट्रिय हवाई उडान गर्ने वायुसेवा कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई उडानमा प्रोत्साहन गर्न पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडानको सुविधा प्रदान गर्ने सम्बन्धी आवश्यक नीतिगत व्यवस्था ४ महिनाभित्र गर्ने योजना मन्त्रालयले बनाएको छ