काठमाडौं। – धरान उपमहानगरले आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। आज १७औँ नगरसभामा उपप्रमुख ऐन्द्रविक्रम बेघाले चालु आवका लागि दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन्।
बजेटको मुख्य स्रोतमा आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख, संघीय सरकारबाट ८९ करोड २९ लाख, प्रदेश सरकारबाट ७ करोड ७३ लाख, राजस्व बाँडफाँटबाट ३४ करोड १८ लाख, सडक बोर्डबाट २ करोड र गत वर्षको मौज्दातबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
मुख्य खर्च योजनामा शहरी योजना तथा पूर्वाधार विकासतर्फ ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुदतर्फ ४६ करोड ८५ लाख, स्वास्थ्यतर्फ ६ करोड ९९ लाख, सामाजिक विकासतर्फ ४ करोड ८६ लाख विनियोजन गरिएको छ। आर्थिक विकास, वन, ऊर्जा, विपद् व्यवस्थापन, कानुन, सार्वजनिक जग्गा संरक्षण, राजस्व परिचालन र नगर भिजन कार्यक्रमका लागि पनि बजेट छुट्याइएको छ।
धरानका २० वटा वडाका लागि २१ करोड रुपैयाँ विनियोजन गरिएको छ। उपप्रमुख बेघालेले बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास र विपद् व्यवस्थापनलाई प्राथमिकता दिइएको बताएका छन्।
संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट पारित गर्नुपर्ने भए पनि लामो विवादपछि धरान उपमहानगरले यसपालि ढिला गरी बजेट ल्याएको हो।