काठमाडौं। निरन्तर वर्षासँगै देशका विभिन्न भागमा खसेको पहिरोका कारण सातवटा प्रमुख राजमार्गमा यातायात आवागमन रोकिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार प्रभावित स्थानहरूमा सडक खोल्ने काम जारी छ।
कोसी राजमार्गको भोटखोला र मकालु गाउँपालिकाको एकुवा क्षेत्रमा पहिरोका कारण बाटो पूर्णरूपमा बन्द छ। त्यस्तै, सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–८ सिरिसेमा पनि सडक अवरुद्ध भएको छ। रसुवासँग चीन जोड्ने मितेरी पुल जाने बाटोमा बाढीले क्षति पुर्याउँदा आवागमन ठप्प छ।
अरनिको राजमार्गमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको कोदारी र डाक्लाङ खण्डमा पनि पहिरो खसेर दुई ठाउँमा बाटो बन्द भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड शुक्रबार बेलुकीदेखि नै बन्द छ र शनिबार बिहानसम्म पनि निरन्तर पहिरो खसिरहेकाले खोल्न कठिनाइ भएको प्रहरीले जनाएको छ।
यसैबीच कालीगण्डकी करिडोर, रत्न राजमार्ग र पूर्व–पश्चिम राजमार्गको गल्छी–त्रिशूली खण्डमा भने अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालनमा रहेको जानकारी प्राप्त भएको छ।