पोखरा । दसैं नजिकिँदै गर्दा पोखरामा हिमाली भेगका भेडाच्यांग्रा भित्रिन थालेका छन्। हरेक वर्षजस्तै यसपटक पनि मनाङ, मुस्ताङ र म्याग्दीका व्यापारीले दसैंको विशेष परिकारका लागि च्यांग्रा ल्याउन थालेका हुन्।
व्यापारीका अनुसार दसैंमा पोखरेली उपभोक्तामाझ च्यांग्राको माग उच्च रहने भएकाले समयमै ठूलो संख्यामा भेडाच्यांग्रा ल्याउन सुरु गरिएको हो। खसीबोका र राँगाको मासुको तुलनामा च्यांग्रा महँगो भए पनि दसैंका बेला यसको लोकप्रियता घटेको छैन।
यस वर्ष बजारमा एक रोज्जा (तुल्य) च्यांग्रा करिब ४६ हजार रुपैयाँमा पाइनेछ। व्यापारीका अनुसार मूल्य गत वर्षको तुलनामा केही बढेको छ तर दसैंको स्वादका लागि उपभोक्ता भने उच्च मूल्य तिर्न तयार देखिन्छन्।